
धादिङ । हेटौंडास्थित गौरीटार रंगशालामा सञ्चालन भइरहेको बागमती प्रदेश कप अन्तर्गत महिला भलिबल प्रतियोगितामा धादिङ जिल्ला च्याम्पियन बनेको छ ।
उपाधिको यात्रामा धादिङले क्रमशः काभ्रे, ललितपुर, सिन्धुली र रामेछापलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल प्रतिस्पर्धामा दोलखा जिल्लालाई हराउँदै धादिङले बागमती प्रदेश कपको महिला भलिबल उपाधि आफ्नो नाममा लेखाएको हो ।
धादिङको विजेता टोलीमा बाल्मिका आचार्य, रेबिका लामा तामाङ, भावना तामाङ, सलिना गुरुङ, प्रतिक्षा थापा मगर, जमुना गुरुङ, सरिना श्रेष्ठ, अमृता थापा मगर, यूना पाण्डे, बबिता तामाङ, अञ्जना गुरुङ र सुहाना थापा मगर रहेका थिए।
टोलीका मुख्य प्रशिक्षक (कोच) विरु लामा र टोली व्यवस्थापक (टिम म्यानेजर) सिता श्रेष्ठको नेतृत्वमा धादिङले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।
धादिङको यस सफलतासँगै जिल्लाको महिला भलिबलले बागमती प्रदेशस्तरमा आफ्नो सशक्त उपस्थिति स्थापित गरेको छ ।
