
काठमाडौं । आज जुन २३ विश्वभर अन्तर्राष्ट्रिय एकल महिला दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । यस दिवसले श्रीमान् गुमाएका तथा एकल जीवन बिताइरहेका महिलाले भोग्ने सामाजिक, आर्थिक र कानुनी चुनौतीप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ ।
यस वर्ष दिवसको मुख्य नारा “Justice, Dignity and Economic Empowerment for Widows” अर्थात् “एकल महिलाका लागि न्याय, सम्मान र आर्थिक सशक्तीकरण” रहेको छ। साथै “Invisible Women, Invisible Problems” भन्ने सन्देशमार्फत समाजमा ओझेलमा परेका एकल महिलाका समस्या पहिचान गरी समाधानका लागि सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय हुन आह्वान गरिएको छ ।
विश्वका धेरै विकासोन्मुख मुलुकमा एकल महिलाहरू गरिबी, सम्पत्तिमाथिको अधिकारको अभाव, लैङ्गिक विभेद, हिंसा, सामाजिक बहिष्करण तथा स्वास्थ्य सेवामा सीमित पहुँचजस्ता समस्यासँग जुधिरहेका छन् । विशेषगरी द्वन्द्व, प्राकृतिक विपद् र आर्थिक असमानताले उनीहरूको अवस्था अझ जटिल बनाएको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् ।
नेपालमा पनि एकल महिलाको अधिकार, सामाजिक सुरक्षा, रोजगारी तथा सम्मानजनक जीवन सुनिश्चित गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायले काम गरिरहेका छन् । सरोकारवालाहरूले दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी नीतिगत सुधार, आर्थिक अवसरको विस्तार र सामाजिक चेतना अभिवृद्धिमार्फत एकल महिलाको जीवनस्तर उकास्न आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय एकल महिला दिवसले विश्वभरका लाखौँ एकल महिलाको पीडा, संघर्ष र अधिकारको आवाजलाई बलियो बनाउँदै समानता, न्याय र सम्मानपूर्ण जीवनको सुनिश्चितताका लागि साझा प्रतिबद्धताको सन्देश दिएको छ ।
