एनप्याब्सन धादिङद्वारा विज्ञान शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
असार ७, २०८३

धादिङ । एनप्याब्सन धादिङद्वारा विज्ञान विषयका शिक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका ९ वटा विद्यालयबाट २५ जना विज्ञान शिक्षकहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले विज्ञान शिक्षणलाई अझ प्रभावकारी, व्यावहारिक र विद्यार्थी–केन्द्रित बनाउने उद्देश्य लिएको थियो ।

कार्यक्रममा सङ्गम प्रकाशनका विज्ञान पुस्तक लेखक तथा विषय विज्ञ चिन्तामणि पन्थीले सहजीकरण गर्नुभएको थियो । उहाँले वर्तमान समयमा परम्परागत शिक्षण विधिभन्दा पनि विद्यार्थीलाई सक्रिय रूपमा सहभागी गराउने “Activity Based Teaching” (क्रियाकलापमा आधारित शिक्षण विधि) अपनाउनुपर्नेमा जोड दिनुभयो । साथै, प्रभावकारी सिकाइका लागि प्रश्न निर्माण (Question Design) कार्यशालासमेत सञ्चालन गरिएको थियो ।

समापन समारोहमा सभापति तथा नेशनल प्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। उहाँले यस्ता पेशागत विकास तालिमहरूले शिक्षकहरूको सीप ताजा (refresher) बनाउने र कक्षाकोठामा सिकाइलाई अझ प्रभावकारी रूपमा लागू गर्न सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष नारायणकुमार श्रेष्ठ, नेशनल प्याब्सन धादिङका उपाध्यक्ष अविकेष बसौला लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमले विज्ञान शिक्षणलाई व्यवहारिक, अनुसन्धानमुखी र विद्यार्थी–केन्द्रित बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने सहभागीहरूले अपेक्षा व्यक्त गरेका छन् ।