प्याब्सन धादिङद्वारा विज्ञान शिक्षक अभिमुखीकरण सम्पन्न, प्रयोगात्मक र प्रविधिमैत्री शिक्षणमा जोड

Avatar photo
Dhadingpost
असार ६, २०८३

धादिङ । प्याब्सन धादिङसँग आबद्ध विद्यालयका विज्ञान विषय शिक्षकहरूका लागि एकदिने विज्ञान विषय शिक्षण–सिकाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका ३२ वटा संस्थागत विद्यालयका विज्ञान शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण नोभा पब्लिकेसनका लेखक तथा विज्ञान शिक्षाविद् डा. चिन्तामणि पन्थीले गर्नुभएको थियो । उहाँले विज्ञान शिक्षणलाई प्रभावकारी, सहज, प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउन आवश्यक विधि र अभ्यासबारे सहभागी शिक्षकहरूलाई जानकारी गराउनुभएको थियो ।

सहजीकरणका क्रममा डा. पन्थीले विज्ञान शिक्षालाई केवल सैद्धान्तिक नभई प्रयोगमा आधारित बनाउनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई प्रत्यक्ष अनुभवमार्फत सिकाइमा सहभागी गराउँदा सिकाइ उपलब्धि थप प्रभावकारी हुने बताउनुभयो ।साथै, विद्यालय तथा स्थानीय परिवेशमा उपलब्ध शैक्षिक सामग्रीको अधिकतम उपयोग गरी प्रयोगात्मक शिक्षणलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रमको समापन अवसरमा प्याब्सन धादिङका सचिव तथा कार्यक्रमका सभापति भीमबहादुर श्रेष्ठ र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघका अध्यक्ष नारायणकुमार श्रेष्ठले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सभापति श्रेष्ठले यस्ता अभिमुखीकरण तथा तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई कक्षाकोठामा व्यवहारिक रूपमा कार्यान्वयन गर्न सकेमा मात्र यसको वास्तविक उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले समयको मागअनुसार नवीन प्रविधि, सिर्जनात्मक शिक्षण विधि र विद्यार्थी–केन्द्रित सिकाइ प्रक्रियालाई प्राथमिकता दिँदै गुणस्तरीय शिक्षणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्याब्सन धादिङले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षण प्रणाली विकासका लागि आगामी दिनमा पनि यस्ता अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।