नीलकण्ठ नगरपालिकाद्वारा शिक्षकहरूको दुईदिने कस्टमाइज्ड तालिम सम्पन्न

Avatar photo
Dhadingpost
असार ४, २०८३

धादिङ । शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नीलकण्ठ नगरपालिकाले शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी दुईदिने कस्टमाइज्ड तालिम सम्पन्न गरेको छ ।

नीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा असार २ र ३ गते सञ्चालन गरिएको तालिममा विभिन्न विषयका विज्ञहरूले सहजीकरण गरेका थिए । तालिममार्फत शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, विद्यार्थी–केन्द्रित शिक्षण विधि तथा सिकाइ उपलब्धि अभिवृद्धिसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ ।

नगरपालिकाका अनुसार शिक्षा क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षण–सिकाइ प्रवर्द्धन तथा शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रकाश दत्त भट्टले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले विद्यालय तहमा शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै विद्यार्थीको सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

नीलकण्ठ नगरपालिकाले आगामी दिनमा पनि शिक्षाको गुणस्तर सुधार र शिक्षकहरूको पेशागत विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।