ल्याक्चे कुण्ड आविको बैठकले दिवा खाजामा जंक फुडलाई मान्यता दिने निर्णय

Avatar photo
Dhadingpost
जेष्ठ ६, २०८३

धादिङ । धादिङको खनियाबास गाउँपालिका–२ कुरीस्थित ल्याक्चे कुण्ड आधारभूत विद्यालय मा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले दिवा खाजामा जंक फुडलाई समेत मान्यता दिने निर्णय गरेपछि त्यसको आलोचना सुरु भएको छ ।

जिल्लाका अधिकांश विद्यालयहरूले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै चाउचाउ, कुरकुरे, चिजबल, कोल्ड ड्रिंक्स लगायतका जंक फुड निषेध गर्दै आएका बेला उक्त विद्यालयले भने दिवा खाजामा यस्ता खाद्यवस्तु प्रयोग गर्न छुट दिएको निर्णय गरेको हो ।

बैठकले कोपीलाल तामाङको संयोजकत्वमा ५ सदस्यीय दिवा खाजा समिति समेत गठन गरेको जनाएको छ । तर विद्यालय स्तरबाट गरिएको यो निर्णय दिवा खाजा सम्बन्धी कार्यविधि र सरकारी नीतिविपरीत भएको टिप्पणी हुन थालेको छ ।

सरकारले विद्यालय दिवा खाजा कार्यक्रमका लागि प्रति व्यक्ति दैनिक २० रुपयाँ उपलब्ध गराउँदै आएको छ । पोषणयुक्त, स्थानीय तथा ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न निर्देशिकामा विद्यार्थीलाई जंक फुड सेवनबाट टाढा राख्नुपर्ने उल्लेख गरिएको छ ।

विशेषगरी “विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम” अन्तर्गत विद्यालय परिसरभित्र जंक फुड बिक्री तथा प्रयोगलाई निरुत्साहित गर्ने नीति रहेको छ । पोषणविद्हरूका अनुसार अत्यधिक प्रशोधित तथा प्याकेटजन्य खानेकुराले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले विद्यालयजस्तो संवेदनशील क्षेत्रमा यस्ता सामग्रीलाई प्रोत्साहन गर्न नहुने बताइन्छ ।

स्थानीय अभिभावक तथा सरोकारवालाहरूले विद्यालयले गरेको निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन् । “विद्यालयले बालबालिकालाई स्वस्थ खाने बानी सिकाउनुपर्ने हो, जंक फुडलाई वैधानिकता दिनु राम्रो सन्देश होइन,” एक अभिभावकले बताए ।

विद्यालयको उक्त निर्णयबारे गाउँपालिका शिक्षा शाखा तथा सम्बन्धित निकायले समेत चासो दिनुपर्ने माग उठेको छ ।