राइजिङ स्टारद्वारा उम्मिदलाई १ लाख, दिवसलाई ५० हजारसहित विशेष सम्मान

Avatar photo
Dhadingpost
जेष्ठ १, २०८३

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–चरौंदीस्थित Rising Star Boarding School ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगदसहित विशेष सम्मान गरेको छ ।

विद्यालयले एसईईमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी उम्मिद थपलियालाई नगद १ लाख रुपैयाँ तथा ३.९५ जिपिए ल्याउने दिवस्तुको उप्रेतीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

विद्यालयका शिक्षक दुर्गा बहादुर गुरुङका अनुसार शुक्रबार बिहान विद्यालय परिसरमा आयोजित विशेष समारोहमा एसईई २०८२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विद्यालयका प्रिन्सिपल टिका थपलियाले विद्यालयले गत वर्षदेखि नै कक्षा ८ मा पालिका प्रथम हुने विद्यार्थीलाई नगद ५० हजार तथा एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख प्रदान गर्ने घोषणा गरेको स्मरण गराउँदै सोही निर्णयअनुसार यस वर्ष पुरस्कार वितरण गरिएको बताए ।

२०६१ सालमा स्थापना भएको विद्यालयमा २०७० सालदेखि माध्यमिक तह सञ्चालन हुँदै आएको छ । विद्यालयले स्थापना कालदेखि नै हरेक वर्ष शतप्रतिशत नतिजा दिँदै आएको भन्दै प्रिन्सिपल थपलियाले यस वर्ष पहिलो पटक विद्यालयबाट ४ जिपिए आएको बताए ।

यस वर्ष विद्यालयका अन्य विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजा हासिल गरेका छन् । दिपेश उप्रेतीले ३.९५, अनिशा गिरीले ३.६३, अनुपा ढकालले ३.६७, समिक्ष्या न्यौपानेले ३.७०, समिर गैरेले ३.६७ तथा उर्वशी रुवालीले ३.७० जिपिए प्राप्त गरेका छन् ।

तस्वीरः दुर्गाबाबु गुरुङ ।