
धादिङ । राइजिङ स्टार ई. बो. ले एसईई २०८२ मा ४ जिपिए हासिल गर्ने विद्यार्थी उम्मिद थपलियालाई नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
विद्यालयले शुक्रबार आयोजना गरेको विशेष समारोहमार्फत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्न लागेको हो । विद्यालयका अनुसार कक्षा ८ को पालिका स्तरीय परीक्षा तथा एसईईमा निरन्तर उत्कृष्ट र शतप्रतिशत नतिजा दिँदै आएको विद्यालयले यस वर्ष ४ जिपिए ल्याउन सफल उम्मिद थपलियालाई नगद पुरस्कारसहित सम्मान गर्न लागेको हो ।
विद्यालयले गत वर्ष नै कक्षा ८ मा पालिका प्रथम हुने विद्यार्थीलाई नगद ५० हजार तथा एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख प्रदान गर्ने घोषणा गरेको थियो । सोही निर्णयअनुसार यस वर्ष उक्त पुरस्कार प्रदान गर्न लागिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल टिका थपलियाका अनुसार सम्मान कार्यक्रम शुक्रबार बिहान १० बजे विद्यालय परिसरमा आयोजना हुनेछ । कार्यक्रम सम्पन्न भएपछि फिस्लिङदेखि मलेखुसम्म बाजागाजासहित र्यालीसमेत निकालिने तयारी गरिएको छ ।
