धादिङमा एसईईको एभरेज जिपिएमा प्याब्सन आवद्ध विद्यालयको अग्रस्थान

Avatar photo
Dhadingpost
बैशाख ३१, २०८३

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङले सार्वजनिक गरेको एसईई २०८२ को एभरेज जिपिए विवरणमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङमा आवद्ध विद्यालयहरूले अग्रस्थान हासिल गरेका छन् ।

समन्वय इकाइका अनुसार एभरेज जिपिएका आधारमा मलेखुस्थित ब्राईटफ्यूचर बोर्डिङ स्कुल प्रथम, गजुरीस्थित मुनाल एकेडेमी द्वितीय तथा गल्छीस्थित सक्सेज एकेडेमी तृतीय भएका हुन् ।

जिल्लामा शतप्रतिशत नतिजा ल्याउने विद्यालयमध्ये १३ सामुदायिक र १० संस्थागत विद्यालय रहेका छन् । तीमध्ये एभरेज जिपिएका आधारमा प्याब्सन आवद्ध विद्यालयहरू शीर्ष स्थानमा परेका हुन् ।

विद्यार्थी सङ्ख्याको अनुपातमा सक्सेज एकेडेमी अगाडि देखिए पनि ३.६ जिपिएभन्दा माथिको अनुपातलाई आधार मान्दा ब्राईटफ्यूचर बोर्डिङ स्कुल प्रथम स्थानमा रहेको शिक्षा विकास तथा समन्वय इकाइ धादिङले जनाएको छ ।

एसईई २०८२ को नतिजाअनुसार जिल्लाबाट नियमित तर्फ कुल ४ हजार २ सय ४६ परीक्षार्थीमध्ये २ हजार ९ सय ७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको ६८.४६ प्रतिशत हो ।

त्यस्तै १ हजार ३ सय ३९ जना विद्यार्थी ननग्रेडेड भएका छन् । जिल्लाबाट १० जना विद्यार्थीले ४.०० जिपिए प्राप्त गरेका थिए ।