दोस्रो पिण्डेश्वरी कप जेठ १५ देखि

Avatar photo
Dhadingpost
बैशाख २८, २०८३

धादिङ, गजुरी । धादिङको गजुरी गाउँपालिका–५ स्थित डोल भन्ज्याङ फुटबल मैदानमा “दोस्रो पिण्डेश्वरी कप” खुला ७ ए–साइड नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । च्याङ्ली युवा क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी जेठ १५, १६ र १७ गते सञ्चालन गरिने आयोजकले जनाएको छ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका विभिन्न टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

क्लबका अध्यक्ष कुमार पण्डितका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेता टोलीले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ।

स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।