हिलेपोखरीमा दुई विद्यालय समायोजन

Avatar photo
Dhadingpost
बैशाख २७, २०८३

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयमा आसपासका दुई विद्यालय गाभिएका छन् । विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु तथा गुणस्तरीय शिक्षामा जोड दिने उद्देश्यसहित स्थानीय अभिभावकको निर्णयअनुसार कालिका आधारभूत विद्यालय र अन्नपूर्ण आधारभूत विद्यालयलाई हिलेपोखरीमा समायोजन गरिएको हो ।

विद्यालयका शिक्षक दामोदर भट्टका अनुसार कालिका र अन्नपूर्ण विद्यालयमा बालविकास कक्षा मात्र सञ्चालन गरिनेछ भने अन्य कक्षाका विद्यार्थीहरुलाई हिलेपोखरी आधारभूत विद्यालयमा अध्ययन गराइने व्यवस्था मिलाइएको छ ।

विद्यार्थीलाई विद्यालयसम्म ल्याउन–लान सहज बनाउन जिप भाडामा लिएर सेवा समेत सुरु गरिएको उनले जानकारी दिए । उक्त कार्यमा वडा कार्यालयले पनि सहयोग गर्ने जनाएको छ ।

वि.सं. २०४५ सालमा स्थापना भएको हिलेपोखरी आधारभूत विद्यालयले २०४६ साल चैत १ गते तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट एक दरबन्दीसहित औपचारिक स्वीकृति प्राप्त गरेको थियो । पछिल्लो समय गाउँपालिकाभित्र आधारभूत तहमा राम्रो शैक्षिक नतिजा ल्याउने विद्यालयका रूपमा समेत हिलेपोखरीले पहिचान बनाउँदै आएको छ ।

हिलेपोखरीको विगत र वर्तमान