
धादिङ । विश्व रेडक्रस दिवसको अवसरमा पुछार बजारस्थित न्यू किबो बोर्डिङ स्कुल ले सरसफाइ तथा विविध रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार युथ रेडक्रस सर्कल, न्यू किबो बोर्डिङ स्कुलको आयोजनामा तथा विद्यालय, जिल्ला रेडक्रस कार्यालय धादिङ र साघुटार टोल सुधार समितिको समन्वय तथा सहयोगमा साघुटार क्षेत्र वरिपरि र कृष्ण मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा युथ रेडक्रस सर्कलमा आबद्ध करिब ५० जना विद्यार्थी, शिक्षक नायक मनिषा लम्साल, शिक्षक सह–नायक सन्तोष श्रेष्ठ लगायत शिक्षक सदस्यहरुको सहभागिता रहेको थियो । सहभागीहरूले सार्वजनिक स्थल तथा धार्मिक क्षेत्र सफा गर्दै समुदायप्रति जिम्मेवार बन्न प्रेरणा दिएको विद्यालयले जनाएको छ ।
यसै अवसरमा विद्यालयले शुक्रबारलाई विशेष बनाउँदै “बुक फ्री फ्राइडे” कार्यक्रमअन्तर्गत प्रि–प्राइमरी तहमा रातो रङको थिममा आधारित “Real Objects” प्रयोग गरी “Red Day Celebration” समेत गरेको थियो ।
त्यसैगरी कक्षा १ देखि १० सम्म “English Handwriting Competition” सञ्चालन गरिएको अतिरिक्त क्रियाकलाप संयोजक भट्टले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मी ले विद्यालयले केवल सैद्धान्तिक शिक्षालाई मात्र प्राथमिकता नदिई समयअनुसार विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित भएर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले आगामी कार्यक्रमहरूमा अझ सक्रिय सहभागिता जनाउँदै भविष्यमा सभ्य, व्यवहारिक, असल तथा कर्तव्यनिष्ठ नागरिक बन्न विद्यार्थीहरूलाई प्रेरित समेत गर्नुभयो ।
