अखिल (क्रान्तिकारी) धादिङद्वारा निःशुल्क एआई तालिम सुरु

Avatar photo
Dhadingpost
बैशाख १३, २०८३

धादिङ । अखिल (क्रान्तिकारी) जिल्ला समिति, धादिङले एसईई परीक्षा पश्चात् विद्यार्थीहरूको खाली समयलाई सिर्जनशील ढंगले उपयोग गर्ने उद्देश्यले निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ ।

तालिमको उद्घाटन नेकपा धादिङका नेता पुष्प विक्रम मल्लले एक कार्यक्रमबीच गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले आधुनिक प्रविधिको ज्ञान आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

अखिल (क्रान्तिकारी) धादिङका अनुसार तालिममा ३० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको छ । वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

तालिममा सहभागीहरूलाई कम्प्युटरको आधारभूत ज्ञानसँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, यसको महत्व तथा व्यावहारिक उपयोगबारे जानकारी दिइने आयोजकले जनाएको छ ।