
बेल्जियम । नयाँ वर्ष २०८३ को अवसरमा धादिङ समाज र स्याङ्जा समाजद्वारा संयुक्त रूपमा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ ।
मिति २० अप्रिल २०२६, सोमबारका दिन एन्त्रोपस्थित प्रोग्रेस क्याफेमा आयोजित कार्यक्रममा बेल्जियममा रहेका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन धादिङ समाजका महासचिव तेज अर्याल तथा नेपालका राष्ट्रिय कलाकार एवं हाल बेल्जियममा बसोबास गर्दै आएका जेबी ओलीले संयुक्त रूपमा गरेका थिए भने कार्यक्रम व्यवस्थापन स्याङ्जा समाजका महासचिव मोहन शर्माले सम्हालेका थिए ।
कार्यक्रममा नेपालका चर्चित कलाकारहरू खुमन अधिकारी, रमिला न्यौपाने र जेबी ओलीले उत्कृष्ट सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमको समापनका अवसरमा धादिङ समाजका अध्यक्ष रमेश दाहालले कलाकारहरूलाई सहयोग रकम प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए ।
विदेशमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
