
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटारमा जारी अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द आउने भएका छन् ।
जिल्ला क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कडेंलका अनुसार बैशाख ९ गते हुने फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरण कार्यक्रममा चन्द प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
धादिङमा पछिल्लो ५ वर्षदेखि क्यानको विधानअनुसार क्रिकेट गतिविधि सञ्चालन हुँदै आए पनि जिल्लाले अझै क्यानको आधिकारिक सदस्यता प्राप्त गर्न सकेको छैन । यस्तो अवस्थामा क्यान अध्यक्षको धादिङ आगमनलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
प्रतियोगितामा जिल्लाका ८ स्थानीय तहको सहभागिता रहेको छ भने क्यानको समेत सहयोग रहेको आयोजकले जनाएको छ । हाल सेमिफाइनल खेलहरू जारी छन् ।
