
धादिङ । धादिङको बेनीघाट रोराङमा जारी जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणका खेल सकिएसँगै उत्कृष्ट चार टोली अन्तिम चारमा प्रवेश गरेका हुन् ।
खेल तालिका अनुसार पहिलो सेमिफाइनलमा समूह ‘बी’ को विजेता गल्छी गाउँपालिकाले समूह ‘ए’ को उपविजेता सिद्धलेक गाउँपालिका सँग बिहान १० बजे प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को विजेता बेनीघाट रोराङ गाउँपालिकाले समूह ‘बी’ को उपविजेता धुनीबेसी नगरपालिकासँग दिनको १ः३० भिड्नेछ ।
धादिङ जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल बैशाख ९ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तिम चरणमा प्रवेश गरेसँगै उपाधिका लागि प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
