
धादिङ । धादिङ क्रिकेट लिग टी २० मा आजको खेल साँच्चै “क्रिकेट किन रोमाञ्चक हुन्छ” भन्ने उदाहरण बन्यो । सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाबीचको भिडन्त अन्तिम बलसम्म पुग्दा मात्रै होइन, सुपर ओभरसम्म तानिएर दर्शकलाई सिटबाट उठ्नै नदिने खालको बन्यो।
अन्ततः सिद्धलेकले संयमता र साहसको अद्भुत मिश्रण देखाउँदै सनसनीपूर्ण जित हात पार्यो ।
टस हारेर ब्याटिङ गरेकाे सिद्धलेकको सुरुवात भने सोचेजस्तो रहेन । तर मध्यक्रम सम्हाल्दै अन्तिमतिर साजन सिलवालले आक्रामक इनिङ्स खेलेपछि खेलको चित्र बदलियो । उनले मात्र २९ बलमा अविजित ४५ रन प्रहार गर्दै टोलीलाई सम्मानजनक १४२ रनसम्म पुर्याए । अन्तिम ओभरहरूमा सुजन गिरीले ६ बलमा १४ रन थप्दा स्कोर अझ मजबुत बन्यो ।
ज्वालामुखीका बलरहरू पनि कम थिएनन् । सुजित श्रेष्ठले ३ विकेट लिँदै सिद्धलेकलाई दबाबमा राखे भने विशाल सापकोटाले २ विकेट झार्दै राम्रो साथ दिए ।
१४३ रनको लक्ष्य पछ्याएको ज्वालामुखीले पनि हार मान्ने मुडमा थिएन । सुरुवातमा केही झट्का लागे पनि किमान खकुराल (३३ रन) र सुरेश आचार्य (२७ रन) ले इनिङ्स सम्हाल्दै खेललाई अन्तिम ओभरसम्म ताने । जब खेल निर्णायक मोडमा पुग्यो, मैदानमा तनाव चरणमा थियो।
नाटकीय रूपमा २० ओभरपछि स्कोर बराबरी—१४२/१४२। अब निर्णय सुपर ओभरमा !
सुपर ओभरमा भने सिद्धलेकले आफूलाई अझै बलियो सावित गर्यो । दबाबबीच शान्त र रणनीतिक खेल प्रस्तुत गर्दै उसले जित आफ्नो पोल्टामा पार्यो । बलिङतर्फ अरम्भ तिमल्सिना र कृतिश खतिवडाले ३–३ विकेट लिँदै खेल जिताउने आधार तयार पारे भने दीवश कण्डेलले २ विकेट थपे ।
आजको खेल केवल जित–हारमा सीमित रहेन, यो दर्शकका लागि एक यादगार अनुभव बन्यो । अन्तिम बलसम्म सस्पेन्स बोकेको यो भिडन्त लिगकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकको रूपमा स्मरणीय रहनेछ ।
यस जितसँगै सिद्धलेकले उपाधि दौडमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको छ, जबकि ज्वालामुखीले हारका बाबजुद उत्कृष्ट प्रतिस्पर्धा देखाउँदै सबैको मन जितेको छ ।
