
धादिङ । नेपाल कराते महासंघको आयोजामा सातदोबाटो ललितपुर सम्पन्न भएको १० औं राष्ट्रिय रेफ्री, कोच सेमिनार तथा युथ च्याम्पियनशिपमा धादिङका दुईजना राष्ट्रिय रेफ्री, एक जनाले राष्ट्रिय कोचको मान्यता र ३ खेलाडीले पदक जित्न सफल भएका छन् ।
श्रावण १८-२२ गते सम्म संचालन भएको उक्त सेमिनारमा राष्ट्रिय रेफ्रीको लाईसेन्स परिक्षा उतिर्ण गर्नेमा धादिङ नीलकण्ठ ८ का रमेश कोईराला र नीलकण्ठ ४ का सुदिप श्रेष्ठ रहेका छन् । कोईराला धादिङबेसी कराँते डोजोका अध्यक्ष समेत हुन् भने श्रेष्ठ नेपाल सितिरियो कराँत संघ धादिङका उपाध्यक्ष समेत छन् ।
यस्तै कोच सेमिनारमा धादिङ रुवी भ्याली सेर्तुङका ओमबहादुर तामाङले राष्ट्रिय कोचको प्रमाण पत्र प्राप्त गर्न सफल भए ।
युथ च्याम्पियनशिप तर्फ ससाह देउरली डोजोका सन्देश भट्टराई यू १० (४० केजी), मा रजत पदक, सुनौलाबजार जोडोका शिरिस दर्लामी मगर यू १२ (४० केजी) कास्य पदक, सेर्तुङका प्रकृती तामाङ यू १४ (४२ केजी) र सेर्तुङ कै सुहान तामाङ यू १४ (४०केजी) ले कास्य पदक जित्न सफल भएका थिए ।
