
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले पन्ध्र महिना उमेर सम्मका बालबालिकालाई लक्ष्यअनुसार खोप लगाएपछि पूर्ण खोपयुक्त पालिकाको रुपमा प्रमाणीकरण तथा प्रतिवद्दता कार्यक्रम सम्पन्न गरेको छ ।
पालिका प्रमुख राजु उप्रेतीको सभापतित्व तथा जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख श्याम प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पूर्ण खोपयुक्त पालिकाको रुपमा प्रमाणीकरणमा सहयोग पुर्याउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उप प्रमुख देवराज धरेल, प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारी, वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो । अनुगमन पछि न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा प्रथम भएको आगिञ्चोक स्वास्थ्य चौकी, द्वितीय सल्यानकोट स्वास्थ्य चौकी र तृतीय मुलपानी स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको स्वास्थ्य शाखा संयोजक यम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।
राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरका बालबालिकाहरुलाई १५ वटा रोग विरुद्धका खोपहरु लगाउनु पर्ने हुन्छ । हामीले १५ देखि २३ महिनाका बालबालिकाहरुमा ती खोपहरु लगाएको नलगाएको अनुगमन गर्दछौं । त्रिपुरासुन्दरीमा तोकिएको उमेर समूहमा ३१५ जना बालबालिका रहेछन् ति सबैले राष्ट्रिय खोप तालिका अनुसार नै खोप लगाएको पाईएको स्वास्थ्य शाखा संयोजक श्रेष्ठले बताए ।