धादिङमा श्रीमती मार्न सुपारी लिनेबाटै एमाले कार्यकर्ता चुडाँमणीको हत्या

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २२, २०८२

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ को डुँडेठाँटी बस्ने ६० वर्षीय एमाले कार्यकर्ता चूडामणि कँडेलको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनी श्रीमती सँग मनमुटाव बढेपछि एक्लै बस्दै आएका थिए ।

मृतक कँडेलले श्रीमती सुस्मिता सिलुवालको हत्या गर्नका लागि अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ दिएका र प्रजाले यो काममा पृथलाल र सञ्चलाललाई पनि सहभागी गराएका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सुस्मिताको हत्या गर्न पटक–पटक प्रयास गरे पनि नसकेपछि आफ्नो काम नभएको भन्दै पैसा फिर्ता मागे पछि आफूहरुले नै कँडेलको हत्या गरेको उनीहरुले स्वीकार गरेको प्रहीले जाएको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भई धादिङको गजुरी–२ डुँडेठाटी बस्ने ३६ वर्षीय अक्कलबहादुर प्रजा, राक्सिराङ–९ बस्ने २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् ।

चैत २७ गते आफ्नै घरको शौचालयमा क्षत विक्षत अबस्थामा कँडेलको शव भेटिएको थियो । कँडेलको हत्या भएको भन्दै दोषिको पहिचान गरि कारवाही गर्न परिवार तथा आफन्तले माग गरेका थिए ।

नेकपा एमालेका संगठित सदस्य एवम् नेकपा एमाले गजुरी २ टोल कमिटीका उपाध्यक्ष समेत रहेका कँडेलको शवमा नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य देवप्रसाद त्रिपाठीले पार्टीको झण्डा ओढाएका थिए । दाहसंस्कार गर्नु अघि नेकपा एमाले गजुरी २ ले मलेखु दोभानमा कँडेललाई श्रद्धाञ्जली दिएको थियो ।