परदेशबाट आमालाई शुभकामना

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १४, २०८२

मेरी आमाको सङ्घर्ष:
हरेक घरको भित्ताभित्र एउटा नारीको त्यस्तो कथा लुकेको हुन्छ, जसले संसार देख्नुभन्दा पहिले अनेक पीडा देखेकी हुन्छिन् । यस्तै एक जीवनकी नायिका हुन् मेरी आमा । सन्तानको पालनपोषण गर्दा आफ्नो सुख दुःखलाई परै राखेर सधैं सन्तानको लागि समर्पित हुन्छिन्। उनका लागि सारा संसारको ख्याल राख्नु, सन्तानको भविष्य बनाउन कडा परिश्रम गर्नु र जीवनका सबै रंगहरू सन्तानको लागि देखाउनु सामान्य कुरा हो।

१६ वर्षको कलिलो उमेरमा आमाको विवाह भयो । उमेरले किशोरी तर जिम्मेवारीले गृहिणी बन्नुपर्‍यो । विवाह पछि जीवन झनै कठिन भयो । शरीरमा रोग लाग्यो-हातखुट्टामा घाउ, खटिरा, छालामा यस्तो असर कि छुँदा पनि अरूलाई घिन लाग्ने । त्यस्तो अवस्थामा घरपरिवार र समाजले तिरस्कार कति गर्‍यो हाेला, तर आमा चुपचाप सबै सहेर बस्नुभयाे । धेरै ठाउँमा उपचार गर्दा नलागेर/नपाएर दुःख पाउँदा पनि हार मान्नुभएन । पछि गाेरखा जिल्लाकाे ‘आँपपिपल’ नामको ठाउँमा पुगी उपचार गरे पछि निको भयाे रे ।

जीवनमा अर्को चोट थियो सन्तान नहुनु । बिवाह भएको लामो समयसम्म सन्तान नहुँदा आमा निरन्तर मानसिक पीडामा पक्कै हुनु भयाे हाेला । संगै बिवाह गरेका अरू महिलाहरूको २-३ वटा सन्तान भइसकेको थियो, तर आमा अझै नि:सन्तान । श्रीमान्‌ले दोस्रो बिवाह गर्न खोज्दा पनि आमा चुपचाप सहनु भयाे, घर बिग्रन नदिने सोच त हाेला नि । हजुरआमा (सासु)ले केही समय अझै कुर अनि मात्र अर्को बिवाह गर्लास् भनेर थुम्थुमाउनु भएको थियो ।

संयुक्त परिवारमा दुई ससुरा, तीन सासू, देवर, देउरानी, नन्द सबैसंग कहिल्यै नराम्रो भएकाे सुनिएन । कहिल्यै गुनासो नगर्ने, नराम्रो बोल्न नजान्ने आमाको धैर्य आजसम्म अद्भुत छ । दिनभरि गाई बाख्रा गाेठालाे गरेर घर आएपछि बिबाह भएको १० वर्षको प्रतीक्षा पछि मेरो जन्म भयो-यो आमाका लागि पुनर्जीवन जस्तै भयो । त्यसपछि ५-५ वर्षको अन्तरमा मेरा दुई भाइ जन्मिए ।

जीवनमा सधैँ दुःखको भारी बोकेर हिँड्ने आमाले हामीलाई माया, शिक्षा र संस्कार दिएर हुर्काउनु भयो ।
स्कुल नटेक्नु भएको मेरी आमाले सदैव मलाई पढ्नका लागि हौसला दिनु भयो । उहाँको जीवन भनेको सबै संघर्षका बावजुद हामीलाई खुशी र शिक्षा दिनु थियो । उहाँले आफ्नो बच्चालाई कहिले पनि पकाएर खाना खुवाउने चाहना राख्नु भएन/ पाउनु भएन । हजुरआमालाई सम्मान पुर्वक जिम्मेवारी दिनुभयाे ।

बिरामी सासू र ससुरा हाेस् या परिवारलाई, आमा दिनरात नभनी हेरचाह गर्न व्यस्त हुनुभयो । हामी छाेराहरु मात्र नभई नाति र नातिनी हुर्काउनु हुदैछ,अनि हाम्रो ठुलो परिवारमा असल श्रीमती ,बुहारी, भाउजू र आमा र हजुरआमा बनिरहनु भयाे । उहाँले सबैको माया र सेवा गर्दै, आफ्नो सुख र शान्ति गुमाउनु भयो । न केही आशा, न केही अपेक्षा-सधैं निस्वार्थ भावनाले परिवारलाई खुशी राख्न उहाँको कर्म नै बन्यो।आमाको माया न कुनै शर्तमा आधारित हुन्छ, न कुनै प्रतिफलको आशामा । यो एक अनन्त र बिना शर्त प्रेम हो । उनीहरूको समर्पण र असीम साहसका कारण नै धेरैजसो सन्तानहरू जीवनमा सफल र सशक्त बनिरहेका हुन्छन् ।

साँचै, आज जस्तो तपाईंले धेरै महिला अधिकार खोजेका भए परिवार सग्लो रहने थिएन । तपाईंको त्याग र समर्पणका कारण हाम्रो घर बलियो बनेको छ । हामीलाई सहारा दिनको लागि तपाईंले गुमाउनु भएको सुख र शान्ति कुनै शब्दले व्यक्त गर्न सकिदैन ।

अहिले परदेशबाट एकान्तमा घाेत्लिन्छु,आमा र परिवारले गरेको संघर्ष,दु:ख देखेको छु,बुझेको छु । बुढेसकाल सम्ममा पक्कै केही गर्ने छु आमा । आशा छ, तपाईंलाई प्रत्यक्ष भेटेर मुहार हेर्ने दिन छिट्टै आउनेछ । तपाईंको कदर र आभार प्रकट गर्ने । अनमोल माया, सम्मान र आभार सहित !
फेरि पनि आमाको मुख हेर्ने दिनको शुभकामना,तपाईंको माया र बलिदान सधैं म सँगै रहनेछ ।