काठमाडौं । एक्लाएक्लै चुनाव लड्ने घोषणा गरेका संसद्का दुई ठुला दल कांग्रेस–एमालेबिच स्थानीय उपनिर्वाचनमा दुई जिसस प्रमुख र एक पालिकामा तालमेल भएको छ ।
ओखलढुंगा जिससमा त एमालेले उम्मेदवारी नदिएपछि कांग्रेसका टेकराज भट्टराई निर्विरोध भइसकेका छन् ।
माओवादीले जितेको रुकुम पूर्वको पुथा उत्तरगंगामा एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचन कांग्रेसको रुख चिह्न लिएर उम्मेदवार बनेकी छिन् ।
यहाँ कांग्रेस–एमालेको राजनीतिक संयन्त्रबिच तुलाचनले कांग्रेस चिह्नबाट चुनाव लड्ने र वडा नं. २ को वडाध्यक्षमा एमाले उम्मेदवार जीवन रोकालाई कांग्रेसले सघाउने गरी स्थानीय तालमेल भएको हो ।
ओखलढुंगामा कांग्रेसको एकल बहुमत पुग्ने अवस्था भए पनि एमालेले सहयोग गरेको छ भने कैलालीमा एमालेले सहयोग गरेपछि जिससमा कांग्रेस उम्मेदवार विजयी बन्नेछन् ।