
लाग्छ जीवन यात्रा हो, यात्रा केवल अनुभव र भोगाइ हो, अनुभव र भोगाइ नै ज्ञान निर्माणको ठूलो स्रोत हो । सानाठूला यात्राहरु प्रायः प्रत्येक वर्ष हरेकले गर्दछन् र मैले पनि गर्थें र तीे सधैं-सधैंका यात्रा केवल आँखाका लागि (दृष्यावलोकन गर्न) र जिब्रोका लागि (नयाँ परिकार रस्वादान गर्न) मात्र गरिएछन् तर यसपटकको हाम्रो रुवी भ्याली यात्रा आँखा र जिब्रोका लागि मात्र नभएर मन र मस्तिष्कका लागि गरिए ।
हाम्रो उद्देश्य थियो कि रुवी भ्यालीका पर्यटकीय स्थल घुमेर त्यहाँ रहेका रुवी भन्दा बढी महत्वपूर्ण विषयवस्तुको अध्ययन र अवलोकन गरी वाहिर ल्याउनु । मनभरि तृष्णा थियो कि मानिसको रहनसहन, आचरण, जीवनशैली कस्तो होला ? मस्तिष्कभरी प्यास थियो कि खर्क र लेकहरुको कथानक जीवनमालालाई घुटुक्क पिउने अनि आँखाभरि सपना थियो कि हिमाल वारीपारीका प्राकृतिक सौदर्यता, भूबनोट, हावापानी, अवस्थितिको दृष्यावलोकन गर्ने । लाग्छ पेटका भोकहरु भन्दा मनका भोकहरु शक्तिशाली हुँदा रहेछन् त्यही भोक र तिर्खाले तय भयो हाम्रो रुविभ्याली यात्रा ।
यात्रालाई आखिर फलदायी बनाउनु थियो, उद्देश्यमुखी, सहज र विशिष्ट बनाउनु थियो त्यसैले हामी धादिङवेशीबाट ४ भाइहरु (देविप्रसाद अधिकारी, चेतनारायण श्रेष्ठ, सुमन थापा र म त्यसैगरी रुविभ्याली–२, तिप्लिङ ठूलोगाउँबाट आइतामाया तामाङ र सव–इञ्जिनियर रोशन लामा यात्रीको रुपमा तयार भयौँ भने हाम्रो यात्राको मार्गनिर्देशन र व्यवस्थापनका लागि तिप्लिङ्गको उपल्लो बस्ती निङ्जोका सहयोगी र मनकारी भाइहरू मार्कूस गोम्जा तामाङ र प्रवेश गोम्जा तामाङ, थिए । मनगरी कौतुहलता, आँखाभरि सपना थियो रुबिभ्याली–४ स्थित कालोदह, सेतोदहसम्मको मात्रा सकूसल सम्पन्न गर्ने । त्यसैले २०८१ असोज ३० गते विहान ७ः३० बजे तिप्लिङ ठूलोगाउँसम्म पुग्ने एउटा जिपमा आफ्नो आवश्यकीय सरसामान व्यवस्थापन गरी धादिङवेशीबाट ४ जनाको टोलीले यात्राको शुभारम्भ गर्यौं। धादिङवेशीबाट व्यवस्थापन नीलकण्ठ क्याम्पसका सहायक क्याम्पस प्रमुख देवी अधिकारीले गर्नुभयो भने रुवी भ्यालीबाट व्यवस्थापन आइतामाया तामाङ, उनको दिदी समाया तामाङ र उनको परिवारले विशेष सहयोग गरिदिनुभयो ।

पहिलो दिन गाडीको यात्रा जति जति माथि बढ्दै गयो त्यति नै मनमा कौतुहलताका ज्वारभाटाहरू उठ्दै गए जसरी नयाँ नयाँ पहाड र टाकुराहरू आँखै अगाडि ठडिदै थिए । साङ्कोष तिप्लिङ सडक खण्डमा कयौं स्थानमा आँखू नदीले खण्डहरु बनाएता पनि अप्ठ्यारा साँगुरा वैकल्पिक मार्गमा पन्ध्रौं वर्षदेखि गाडी हाँकेको अनुभव भएका ड्राइभर ग्यापा घलेको मीठा मीठा अनुभव, वचन र व्यवहारले हामीलाई लौभ्याइरहेथ्यो । लपाङवेशीको खाजा अनि डुण्डुरे फूलवारी होटलको मीठो खानाको स्वादले हाम्रो मन भने फुरुङ्ग थियो । डुण्डुरे माथि वोराङ सम्मका वाराहरू वर्षातका पहिरोका कारण क्षतविक्षत भएपनि मुश्किलले गाडी चलिरहेका थिए आखिर गाडी भित्र म्युजिक बजाइ दिंदा आफैं नाचेको अनुभव हुँदोरहेछ यस्ता वाटाहरुको यात्रामा । छङ्गाछुर भीरबाट अस्थिपञ्चर मात्र बाँकि रहला जस्ताे भिराला र साँगुरा बाटाहरूमा गुडेकाे हाम्रो गाडी गँगटा जस्तै लाग्थ्यो तर पनि ड्राइभर दाइको निर्धक्कपन देखेर हाम्रो मन स्थीर नै थियो । बेलुकी ४ः३० बजे तिप्लिङको ठूलो गाउँ पुग्दा हामीलाई आतिथ्यता सहितको खाना र वासको लागि खडा थिइन् प्रीय बैनीहरु आइतामाया तामाङ र समाया तामाङ, उहाँहरुको यो सद्भावको हामी ऋणि छौं सधैंभरी ।
सभ्य तिप्लिङको ठूलोगाऊँ र न्यानो आतिथ्यता
बेलुकीको चिसो चिसो मौसम, केही समथर भुभाग, जता फर्के पनि लहलह फलेका तरकारीहरु, घरघरमा प्रयाप्त खानेपानी, विजुली बत्ती, शौचालय र नयाँ आगन्तुक देख्नासाथ गरिने आदारसत्कार र मिठो बोली देख्दा लाग्थ्यो शहरबाट हराएको मानवता, प्रेम सद्भाव र सम्यता यही ठाउँमा वसाई सरी आएछ । एक घर, एक धारा, एक शौचालय परियोजना र लोडसेडिङ मुक्त विजुली बत्ती देख्दा मनमनै दुर्गमताको पगरी झिक्न बाध्य भए । दिनमा ५० पटकभन्दा बढि बत्ती गइरहने, कहिलेकाहिँ त्यहीपनि धमिलो पानी आउने धारा र धादिङवेशीको पानी सम्झिएर धिक्कारें जवकी प्रतिमहिना रु १०० मा पर्याप्त वती बाल्न सकिने विजुलीको व्यवस्थापन, धादिङवेशीमा भन्दा पहिल्यै भएको रहेछ । शिक्षा, स्वास्थ्य र बाटोघाटोमा दुर्गमपन देखिए पनि हावापानी, बत्ती, खानेपानी, माटोको उर्वरता, कर्मशील हातहरु, निश्वार्थतामा सुगमभन्दा कम रहेनछ । माथि माथि ठूला र अग्ला टाकुरा, त्यसको बीच-बीचमा झुरुप्प रहेका सुन्दर बस्ती, अनि बस्तीमा बस्ने मानिसका असल स्वभाव र निस्वार्थपनले हामीलाई गौरवान्वित महशुस गरायो । त्यो भिर, त्यो पाखा, ती पखेरा, ती खोरीया या समथर ठाऊँ, लाग्थ्यो खेती गर्न बाँकि कुनै जमिन थिएन । केही घर, त्यसमा बस्ने केही मानिस तर असीमित भिराला, कहालीलाग्दा जग्गाहरु सबैमा हराभरा खेतीपाती गरेको देख्दा लाग्थ्यो संसारमा तिनीहरु भन्दा परिश्रमी अन्त कोही छैनन् ।
हामीलाई यात्राको मेलोमेसो मिलाउने प्रमुख पात्र थिइन् आइतामाया र उनकी दिदी समाया तामाङ । उनीहरुले योजना नबनाएको भए सायद हाम्रो रुवी भ्याली यात्रा नै हुने थिएन । कहिल्यै विर्सन नसकिने आथित्यता सहितको खानपिन पछि हामी केही समय कुराकानी गर्न लाग्यौं ती वहिनीहरूका बुबा कुम बहादुर तामाङसँग । उहाँ त्यहाँको सबैभन्दा पुरानो पाष्टर पनि हुनुहुँदो रहेछ । मीठी बोलीवचन, धर्मको असीमित ज्ञान भएका उहाँले हामीलाई ठूलै प्रवचन दिन शुरु गर्नुभयो । उहाँको कुरा हामीले बढो चाख लिएर सुन्यौं । मलाइ भने ठूलै कौतुहलमा थियो कि उहाँहरू कहिले र कसरी इसाइ धर्ममा लाग्नुभयो ? उहाँकै अनुसार त्यस गाउँको उहाँ नै पहिलो इसाई धर्मावलम्वी हुनुहुन्थ्यो । २०४५ साल अघि सम्म उहाँ पनि बौद्वमार्गी हुनुहुन्थ्यो । त्यसवेलासम्म मानिसलाई रोग लाग्दा अस्पतालको सुविधा थिएन भने प्रायजसो उपचार लामाहरूले झाक्री बसेर गर्नुपथ्र्याे त्यो नै उनीहरुको वाध्यता थियो । उहाँका अनुसार घरमा १ जना मानिस विरामी हँुदा ५–७ वटासम्म बोकाबाख्रा र कुखुरा काट्नुपर्ने, माग गरेबमोजिम पैसा र अन्य सामाग्री व्यवस्था गर्नुपर्ने हुन्थ्यो र पनि विरामी मर्ने तीतो यथार्थ थियो । त्यसबाट आजित कुम बहादुर बुवाले २०४५ सालमा १ जना क्रिश्चियन पाष्टर भेट्नुभएछ र आफ्नो समस्या प्रस्तुत गर्नुभएछ ती पाष्टरले कुनै पनि रोग लाग्दा सामान्य प्रभुको प्रार्थना गरेमा रोग निको हुने र त्यसका लागि लामाको जस्तो विशेष ज्ञान पनि नचाहिने, कुनै शुल्क तिर्न र वली चढाउनु पनि नपर्ने र सामान्य प्रभुको प्रार्थना पश्चात रोग निको हुँदै जाने कुराले उनको मन लोभ्यायो र त्यही ठूलो गाउँमा आएर मानिसहरु भेला गराइ त्यसको जानकारी गराए । त्यसवेला लामाझाक्रीको ज्यादती खप्न नसकेर प्राय गाउँ त्यही विश्वासले क्रिश्चियन बनेको कुरा बताए र त्यसवेलादेखि वालवच्चाको मृत्यु पनि कम भएको, अनिकाल र भोकमरी पनि घटेको, आफ्ना वालवच्चालाई असल मार्गमा प्रेरित गर्न सफल रहेको कहानी सुनाउनुभयो । सत्रुलाई पनि मित्रवत व्यवहार देखाउनु, अप्ठ्यारो परेको वेलामा व्यक्तिलाइ सहयोग गर्नु, ठूला र सानालाई समान हैसियत दिनु नै धर्म हो भन्ने महान विचारबार प्रेरित हुनुहुँदोरहेछ उहाँ । रोग र भोकको बीचबाट फस्टाएको रहेछ इसाइ धर्मावलम्बी भन्ने ज्ञान प्राप्ती भयो उहाको विचारबाट ।
लेक, खर्कको जीवन, चौरी तथा वाख्रापालन
रुविभ्यालीका जमिनहरुको विशेषता भन्नुनै गगनचुम्बी डाँडापाखा, भिर, टाकुरा, लेक, खर्क र केही समथर सुन्दर मानिस बस्ती रहेका स्थलहरू । विशेष गरेर मानवबस्तीबाट धेरै टाढा (२–३ दिन लगाएर पुग्न सकिने) रहेका सुन्दर खर्क जहाँ उनीहरुका प्रमुख व्यवशाय लेकाली बाख्रा र चौरी पालन र छुर्पी उत्पादन गर्नुरहेछ । अनकन्टार र भिराला जमिनमा ठाऊँ ठाऊँमा चौरी, भेडा र बाख्राका गोठहरु जहाँ बाख्रा र चौरीका हेरालु महिनौं दिनसम्म एक्लाएक्लै बसेको देख्दा हामीलाई अचम्मै लाग्यो । न हारगुहार न कसैको दैनिक हेरविचार, न छरछिमेक तैपनि कतै महिला, कतै पुरुषको खर्कको दिनचर्या देखेर छक्क नपर्ने कुरै भएन । हाम्रो यात्राको दोस्रो दिन ठूलोगाउँदेखि पुरु हुँदै तिप्लिङको अन्तिम बस्ती लिङ्जोको होम स्टेमा विहानको खाना खाएर अगाडि बढ्दै, डाँडापाखा उक्लदै जाने क्रममा सिन्दुरचो खर्क जहाँ १५० भन्दा बढी बाख्राहरुको हेरालु काले घलेको गोठमा बास बस्न पुग्यौं । उनी उमेरले ५०औं वर्ष पार गरिसकेपनि अझै अविवाहित रहेछन । यिनलाई बिहे गरिदिने कुरा गरेपछि खुसी हँुदा रहेछन् । दैनिक उनको काम,खानपानको जोहो र १५० भन्दा बढी बोकाबाख्राहरु स्याहार सुसार गर्ने रहेछ । उनले सुरक्षाका लागि एउटा भोटे कुकुर पनि पालेका रहेछन । त्यस दिन उनी यति खुसी भए कि उनको गोठभरि हामी थियौं हामीले उनीलाइ पनि खाना र खाजाको व्यवस्था गरिदियौं ।


भोलिपल्ट तेस्रो दिनको यात्राको क्रममा १ घण्टा माथि हामीलाई गाइडको रूपमा सहयोग गर्ने भाइ मार्कूस तामाङ भाइको माइजुको गोठमा पुगेर चौरीे पालनको जानकारी लियौं । ती ४०–५० वर्षकी दिदी हाम्रो पनि माइजु बनिन् र हामीलाई चौरीको दुध धित मरुन्जेल उमालेर खान दिइन् । उनीसंगै उनकी १०–१२ वर्षकी छोरी जो बाेर्डिङ स्कूलमा पढ्दिरहिछ पनि सँगै बस्दै रहिछिन् । ती नानी आफ्नो दशैं तिहार विदामा आफ्नो आमालाई त्यो अनकन्टार खर्कमा सघाउन आएकी रहिछिन । उनी त्यहाँ रहँदा खुसी थिइन तर उनीलाई एउटै कुराको चिन्ता थियो विद्यालयले दिएको चाङकाचाङ विदाको गृहकार्य सम्पन्न गर्ने । कुराकानी गर्दै जाँदा थाहा भयो चौरीहरु विहान फुकाएर छोडेपछि टाढाटाढासम्म चरेर आँफै घर फर्केर आउने रहेछन् र ती माइजुको काम साना बाच्छाबाच्छी स्याहार गर्ने दुधबाट छूर्पी उत्पादन र त्यो अर्गानिक छूर्पी काठमाण्डौ पुर्याइने रहेछ । हामीलाई पनि किन्न मन लाग्यो । रु ६०० मा एक किलो पाइने रहेछ आफ्नो आवश्यकता अनुसार लियौं र उकालो लाग्ने क्रमलाइ जारी राख्यौं । जति जति हाम्रो यात्रा माथि बढ्दै गयो मुटुका धड्कनहरु बढ्दै जाँदा रहेछन् । तेस्रो दिनको विहानको खाना वावेल खर्कको गोठमा र बेलुकीको वास र खाना झहराचो खर्कमा गरियो । यो खर्क हिमालकै नजिकमा रहेछ त्यहाँसम्म मानिसहरू चौरी र बाख्राहरु चराउन पुग्दा रहेछन् ।
पर्यटक पखाइमा रहेका सुन्दर प्राकृतिक सम्पदाहरु
चौथो दिनको यात्रा (२०८१।०७।०३गते) करिव ३४०० मिटर अग्लाईमा रहेको झहराचो खर्कमा बिहानको नास्ता (चाउचाउ) खाएर हाम्रो यात्रा शुभारम्भ भयो । चिसो चिसो हिमाल चुमेको हावाको सिरेठो, ५-५ मिनेटमा बदलिने मौसम, नाङ्गा डाँडाहरुलाई घुम्टो ओडाईदिने र पर्यटकको तृष्णा बमोजिम सुन्दरता पस्किरहने भनौ कि भिरपाखा र टाकुराहरुसँग लुकामारी खेलिरहने हुस्सुसँग हाम्रो मित्रता बढ्दै गयो । बाटामा चौरीले बनाएको ट्रयाकलाई पछ्याउनु हाम्रो बाध्यता थियो । जुन हाम्रो लागि केही कष्टकर र जोखिमपूर्ण थिए । जति जति पाइलाहरु अगाडि बढ्दै गए उती उती धड्कन पनि बढ्दै गएपनि सुन्दर हिमालले मुसुक्क मुस्कुराइरहँदा शरीरको थकान र मनका डर घट्दै जाँदा रहेछन् नभए धादिङबेशी आसपासमा जन्मे हुर्केका हामीलाई ढुङ्गा र झार समाएकै भरमा चड्न सकिने डरलाग्दा टाकुरा सकुशल चड्न सक्ने सामथ्र्य कहाँ आउँथ्यो होला ? ४६३८ मिटर अग्लो हार्चीपास (गोरङ) टाकुरा चड्नु जति जोखिम र कठीन थियाे । चढिसकेर टाकुराको टुप्पोबाट गणेश हिमाल आँखै अगाडि नियाल्नुको आनन्द म शब्दमा बयान गर्नै सक्दिन । जति चढ्न कठीन र जोखिम रहेछ त्यो भन्दा झन् कठीन थियो ओर्लन तर वरीपरीको दृष्यको आकर्षणले शरीरमा छुट्टै उर्जा थपिरहेको थियो र त ३ घण्टा भन्दा बढी समय लाग्ने ढुङ्गैढुङ्गा थुप्रिएको ओरालो भिर जहाँ हिउ जमिरहेको थियो त्यो सकुशल पार गर्न सक्षम रह्यौँ । हाम्रो अन्तिम गन्तव्य थियो सेतो दह र कालो दह, त्यसकै आसपास पुगेर त्यो दिनको बास बस्यौँ ।
चिसो चिसो हिउँले हामीलाई चुम्दै गरेको दृष्य सायद गणेश हिमालले देखेको हुनुपर्छ । वरिपरिका अग्ला अग्ला टाकुरा र ती टाकुरामा खेल्ने डाँफे, मूनाल, घोरलले पक्कै हेरेको हुनुपर्छ । यही मीठो आत्मानुभूतिले नै हामीलाई उर्जा थपेको हुनुपर्छ । हिम्मत बढाएको हुनुपर्छ र चिसोबाट पनि जोगाएको हुनुपर्छ ।
४६३८ मिटर अग्लो हार्चीपास (गोरङ) टाकुरा चढ्दै
गणेशहिमाल फेदीका जोडी दहः कालो दह र सेतो दह
यात्रा कठीन थियो, हिँडाई अनवरत थियो तर पनि न शरीरमा थकान थियो, न पेटमा भोक, यही त विशेषता रहेछ हिमाली आसपासमा गरिने यात्राको । शरीरमा उर्जा खाना खाएर मात्र आउँछ भन्ने भ्रमबाट मुक्त भएँ म । खानाको शक्ति भन्दा आँखाको शक्ति तेज हुँदोरहेछ । पेटको भोक भन्दा मनको भोक र आँखाको भोक शक्तिशाली हुँदो रहेछ, यही उर्जाले हाम्रो सक्रियतामा कुनै कमी थिएन । टाकुरा उक्लनमा कुनै कन्जुस्याई थिएन । अनवरत नयाँ ट्र¥याक खोज्दै अगाडि बढ्दै पाचौँ दिन बिहानै सेतो दह र कालो दहलाई नियाल्यौँ, धित मारेर । वरीपरी गणेश हिमाल लगायतका हिमाल मुस्कुराइरहेछन् । बीचमा यी जोडी दह आफ्नो खुवी देखाइरहेछन् । नामले सेतो दह र कालो दह राखे पनि घामको किरणसँगै पलपलमा रुपरंग र सौन्दर्य फेरिरहेको दृष्य हेर्न आउनेको मन कति प्रफुल्लित हुँदो हो ? र भयो त्यो भोग्नेलाई मात्र अनुभूती हुन्छ । यो त मलाई लाग्छ हराएको स्वर्ग नै हो यो मनाङको तिलिचो भन्दा बढी सुन्दर छ, तर पर्यटकको असीम पखाईमा छ, राम्रो बाटोघाटो र नेतृत्वगणको ध्यानको पर्खाइमा छ । कालो दह र सेतो दहको मीठा मीठा किंबदन्ती रहेछन् त्यो ठूलो चासोको विषय ठानिन तर मिनेट मिनेटमा दहको फेरिएको मुहार हेरेर नतमष्तक बने, सायद त्यो समयको सुन्दरता बयान गर्ने मेरा शब्दहरु नै गरीब छन् । सुन्दरता खोज्दै अन्य जिल्ला जिल्ला भौतारिने धादिङबासीले आफ्नै शरीरको कस्तुरी चिन्न किन समय लागेको होला, किन पर्यटकको कञ्जुस्याई बढेको होला ? क्यामेरामा कैद गरिएका तस्बिरहरु भन्दा मनको मझेरीमा कैद गरिएका तस्बिरहरु शक्तिशाली हुँदारहेछन् त्यसैले त्यो पवित्र सुन्दर दहको निश्छल, निर्मल जल सिञ्चन गर्दै करीब साँढे १ घण्टा कालो दहको काखमा लुट्पुटिरहेँ र मनको क्यानभाषमा अनुभवका चित्रहरु कोरीरहेँ, धित मरुन्जेल । रुविभ्याली ४ मा रहेको सेतो दह र कालो दह ।

फर्कदा फर्कदै बटुलिएका अविस्मरणीय पलहरु
यी दुई जोडी दहलाई छोडेर फर्कने मन पटक्कै थिएन । त्यही बसौँ, त्यहीँ रमाउँ, त्यही खेलौँ जस्तो । तर तिनीहरुलाई पनि थाहा हुँदो हो, यी सबै केही घण्टाका पाउनामात्र हुन्, आउँदा केही समय टहलिन्छन्, बरालिन्छन् निष्टुरीहरुले छोडेर जान्छन् अनि कहिल्यै वास्ता गर्दैनन् पक्कै यस्तै सोचे होलान् ती टाकुराहरुले, यसै सोचे होलान् लेक र खर्कहरुल,े यस्तै सोचे होलान् दहहरुले, यस्तै भने होलान् डाँफे, मनाल र घोरलहरुले । त्यसैले त उनीहरुकै भाषा लेख्दैछु । पत्रपत्रिकाका पानाहरु रङ्ग्याउने प्रयासमा छु । पाँचौं दिनको फर्कने यात्रा पनि शुरु भयो । खै किन ठूला खनिएका डोरेटो भन्दा खन्न बाँकी नै रहेका डोरेटा पछ्याउन मन लाग्यो । त्यसैले सबै हिड्ने डोरेटो होइन जोखिमपूर्ण भएपनि तँगारो भञ्ज्याङ हुँदै फर्कने बिचार गर्यौँ । त्यो टाकुरा पनि सामान्य अवश्य थिएन टोपी नै खस्ला जस्तो भिर, टाढैबाट हेर्दा असम्भव जस्तै लाग्ने तर पनि हाम्रो यात्राको मुख्य पात्र मार्कुस भाइको माया ममता, हौसला मिश्रित बोलीलाई सिरोधार्य गर्दै पार गर्न सफल भयौँ । फर्कने क्रममा मौसमको प्रतिकुलता पनि राम्रैँसँग बेहोरियो । माने चौ देखि चौचेत सम्म आएपुग्ने क्रममा घनघोर हिउँ सहितको वर्षा भयो । चिसो चिसो र निथ्रुक्क भिजेको सरीर भएपनि बाटाभरी हिउँ नै हिउँमा टेक्दै, खेल्दै होसियारी पूर्वक अगाडि बढ्दाको छुट्टै मज्जा थियो ।

ठाउँ ठाउँका पहरो र कन्दराहरुमा चिराइतो लगायतका जडीबुटी खोज्ने मानिसहरु कयौँ घण्टा दिन पार गरेर आउने रहेछन् । साना साना बालबच्चा देखि महिला पुरुष थुन्से बोकेर जडिबुटी खोज्दै गरेको दृष्यले हामीलाई भावुक बनायो । त्यही कठिन दृष्य देखेर कसम खाएको छु, हिमाली जडिबुटी बेच्न आउनेसँग कहिल्यै बार्गेनिङ गर्ने छैन । किनकी जीवनलाई खुकुरीको धार जस्तो जोखिममा राखेर सङ्कलन गरिएको त्यो अमूल्य औषधीलाई मूल्यहिन बार्गेनिङ गर्नु मूर्खता नै हो । घरबाट धेरै टाढा रहेकाले १-२ हप्तासम्म बस्न प्लाष्टिक प्रयोग गरेर टहरो बनाइदो रहेछ । झरी र हिउँमा रुझेर, टाकुराको जोखिम उठाएर टिपिँदो रहेछ यस्तो धेरै जडीबुटी । दिनका प्रहरहरु घटिसकेका थिए, भिराला र हिउँले जोखिमपूर्ण बनाएका अनन्त जस्तै लाग्ने बाटो पार गर्न हामी यात्रीहरुको खुट्टाहरुलाई सास्ती नै थियो । बेलुकाको बास रुबीभ्याली–४ स्थित ठूलो ढुङ्गाको ओडारमा रुझेको शरीरलाई विश्राम दिन निर्णय गरियो । त्यहाँ पुग्दा लगभग रात परेको थियो । भिजेको दाउरा, अन्धकारमा हराएको पानीको मूल खोज्दै थियौं । दाउरा बालेर कामिरहेको सरिर र रुझिरहेको लुगालाई सेकायौँ । खानाको प्रबन्ध गर्यौँ र चिसो भुईमा टेन्ट तयार गरी त्यो रात बितायौँ । अनुभवको पानामा अविस्मरणीय यी क्षणहरु कैद गर्दै गर्दै छैटौँ दिन अत्यन्तै प्रीय भाइ (हिन्दुङबाट जाने बाटोका गाइड) बम बहादुर तामाङको हिन्दुङ गाउँलाई दृष्यावलोकन र भाइको मीठो आतिथ्यता स्वीकार गर्दै अन्तिम गन्तव्य तातोपानी तिर अगाडि बढ्यौँ । वन र घारीमा हराएका बाटाहरु खोज्दै खोज्दै तातोपानी पुगेर घण्टौँसम्म तातोपानीमा डुबुल्की मार्यौ, शरीर हलुङ्गो बनायौँ र त्यस दिनको खाना नजिकै रहेको ज्यmभ क्तबथ मा डिडो, साग र फर्सी पकाएर खायौँ । होमस्टे सञ्चालकलाई दर्शक बनाएर यात्रामा राइसरको नामले चर्चित सुमन थापा सरको हातबाट बनेको तरकारी र मीठो ढिडोको स्वाद सायद बिर्सदैनौँ ।
तातोपानी परिसरमा बास बस्नलाई सानो खाली घर पनि रहेकाले त्यहीं सुत्यौँ । सधैँका दिन चिसोको सिकार हुने हामीलाई त्यसदिन त गर्मी नै महसुस भयो, त्यो ठूलो आँखु खोलाको नजिकको त्यो तातो पानी र त्यसको नजिकै समेत चिसोको कुनै महसुस नहुनु पनि अचम्मको अनुभव रह्यो । बिहान ४ः३० बजे सवेरै उठेर साताैं दिनको बोराङ सम्मको यात्रा तय गर्यौँ । किनकि बोराङबाट जम्मा २ वटा गाडी मात्र धादिँबेशी आउने रहेछ । चढ्ने मानिस भरिएपछि हिंडीहाल्ने नयाँ व्यवस्थाका कारण हाम्रो यात्रा छिटो छिटो हुन पुग्यो तर दुर्भाग्यवश हामीले रिजर्भ गरेको सिट बिरामी आएका कारण उनीहरुलाई दिनु पर्यो पछि भाग्यबश एउटा स्कार्पियो भेटियो र त्यही रिजर्भ गर्दै सातौँ दिनमा धादिङ फर्कियौँ ।
लगानीको अभावमा रुवी भ्यालीको पर्यटन
नजिकको तिर्थ हेला भने झैँ साच्चै पर्यटन विकासको ओझेलोमा रहेछ रुवीभ्यालीका रमणीय स्थलहरु । हिन्दुङ हुँदै जाने सामान्य डोरेटोमा केही लगानी भएपनि सबैभन्दा छोटो, सुन्दर स्थलहरु हेर्दै तिप्लिङको उपल्लो सुन्दर गाउँ लिङ्जो हुँदै जान सकिने प्रचुर सम्भावनालाई लत्याएको देखिन्छ । खासगरी रुवी भ्याली वडा नं. १ र २ ले मात्रै पनि केही लगानी गरिदिने हो भने लिङ्जो–सिन्दुर चो खर्क, झहरा चो, हार्चीपास हुँदै कालो दह र सेतो दह हेर्ने र फर्कदा हिन्दुङ हुँदै फर्कने उत्कृष्ट गन्तव्य हुन्छ । त्यसैगरी रुवी भ्यालीले पर्यटन प्रवर्धन गर्न केही कार्यक्रमहरु अगाडि सार्न र धादिङबेशी तिप्लिङ सडक स्तरोन्नती गर्न पहल गर्नुपर्ने जरुरी छ । खर्क र लेकमा पालिएका चौरी र बाख्रा पालन व्यवसायलाई पर्यटनसँग जोड्न सकिएमा आर्थिक आयआर्जनको ठूलो सम्भावना देखिन्छ । खर्कहरु बाहेकका कयौँ यस्ता डाडाँपाखा छन् त्यसमा सम्भावित सयौँ जडिबुटीको बिरुवा रोपी त्यसबाट अरबौँ कमाउन सक्दछ । कम्तिमा कालो दहसम्म पुग्न ठाउँठाउँमा ट्रयाक बनाइ, बास बस्न वा झरीमा टाउको लुकाउन मिल्ने केही छाप्राहरुको निर्माण, ठाउँको नाम, उचाई सहितको सूचना दिने केही बोर्डहरु राख्न सकेमात्र पनि पर्यटकलाई आकर्षण गर्न सकिन्छ । स्थानीय उत्पादन (आलु,फर्सी, सिमी तथा काक्रा) लगायतका अर्गानिक वस्तुहरुको बजारीकरणमा पर्यटनबाटै सहयोग पुग्ने देखिन्छ । पर्यटकलाई सुरक्षित गन्तव्यको महशुस गराउन सके होम स्टे सञ्चालन मार्फत मानिसको जीवनशैली सुधार्न सकिन्छ । देशमा पर्यटकीय स्थल धेरै छन् तर तिनीहरुको विशेषता प्राय एउटै हुन्छन् तर धेरै भन्दा धेरै विविधताको अनुभव लिन सकिने सुन्दर सुन्दर दृष्यहरु कैद भएको प्रमुख स्थल मध्धे एक रहेछ रुवीभ्याली जसलाई लुकिरहेको वा हराइरहेको स्वर्ग भन्दा फरक नपर्ला । अस्तु ।।
(यात्रा संस्मरण लेखक रिजाल, नीलकण्ठ क्याम्पसका उप-प्राध्यापक समेत हुन् )






