
धादिङ । निलकण्ठ नगरपालिका–१०, धादिङ टारीबेसीका घर भएका चितवनस्थित भरतपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पत्रकार जय पाठक (जेपी) चितवनमा नगदसहित सम्मानित भएका छन् ।
चितवनस्थित भरतपुर अस्पतालले आयोजना गरेको खुला निबन्ध प्रतियोगितामा पाठक उत्कृष्ट भई सम्मानित भएका हुन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले शुक्रवार पाठकलाई नगर पुरस्कार सहित उत्कृष्ट निबन्धको प्रमाणपत्र प्रदान गरेका छन् ।
अस्पतालले गत भदौमा ‘भरतपुर अस्पताललाई अझै सेवामैत्री बनाउन कुन-कुन ठाउँमा बढी ध्यान दिनुपर्छ ?’ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कुल ३० जनाको सहभागिता रहेको अस्पतालले जनाएको छ । पाठक सहित अन्य ३ जनालाई समेत अस्पतालले सम्मान गरेको छ ।
यसअघि अस्पतालले ‘तपाईं भरतपुर अस्पतालको मेसु भए के गर्नुहुन्छ ?’ भन्ने शीर्षकमा निबन्ध प्रतियोगितामा पाठकको लेख उत्कृष्ट २ मा पर्न सफल भई नगदसहित सम्मानित भएका थिए । झन्डै डेढ दशकदेखि स्वास्थ्य पत्रकारिता क्षेत्रमा लागेका स्वास्थ्य पत्रकार पाठक सामाजिक कार्यमा पनि सक्रिय छन्।
भरतपुर अस्पतालमा कार्यरत पाठक यसअघि उत्कृष्ट कर्मचारीमा सम्मानित भएका थिए । सकुशल ढङ्गले भरतपुर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै अस्पतालको ५९ औँ वार्षिकोत्सवको सुखद अवसरमा पाठकलाई नगर पुरस्कार सहित उत्कृष्ट कर्मचारीको कदरपत्र प्रदान गरिएको थियो ।











