धादिङ । नीलकण्ठ नगरपालिका १० धादिङ टारीबेसी निवासी जय पाठक (जेपी) चितवनमा सम्मानित भएका छन् । चितवन स्थित भरतपुर केन्द्रीय अस्पतालले पाठकलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरेको हो ।
भरतपुर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएकोले अस्पतालको ५९ औँ वार्षिकोत्सवको पाठकलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा. डा. कृष्णप्रसाद पौडेलले बताए । नगद सहित उत्कृष्ट कर्मचारीमा चयन भएसँगै पाठकले आफुले थप जिम्मेवारी महसुस गरेको र थप सक्रिय रुपमा क्रियाशिल भई काम गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिए ।
पाठकसँगै सर्जरी शाखाका डा. दिपेन्द्र न्यौपाने, कार्यालय सहयोगी जीतबहादुर गुरुङ, सवारी चालक सुमन श्रेष्ठ, नर्स कोपिला रेग्मी, कम्प्युटर सहायक सुजन अधिकारी र कार्यालय सहयोगी शारदा गुरुङ समेत सम्मानित भएका छन् ।
वार्षिकोत्सवको अवसरमा बिरामीलाई निःशुल्क फलफूल वितरण, स्मारिका विमोचन, खेलकुद प्रतियोगितामा तथा कविता वाचन एवम् वक्तृत्वकला प्रतियोगिता उत्कृष्ट हुनेहरूलाई पुरस्कार वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मान लगायतका कार्यक्रम पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा अस्पतलाले गरेको थियो