मौसममा आजदेखि क्रमिक सुधार आउने

Avatar photo
Dhadingpost
आइतवार, अशोज १३, २०८१

काठमाण्डौ । आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिए । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए ।

मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लगातारको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जना जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।