कृषिलाई निर्वाहमुखी होइन, प्रतिस्पर्धात्मक बनाउनु पर्छ-मन्त्री अधिकारी

Avatar photo
Dhadingpost
सोमवार, अशोज ७, २०८१

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताएका छन् । ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (जिएफएसएस / यूएसएआइडी) कृषिमा प्रत्यक्ष वित्तीय लगानी (जिटुजी)को सोमबार काठमाडौँमा शुभारम्भ गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेको बताएका हुन् । 

कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा लगभग २४५ योगदान पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले भने,‘कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्रीहरू (बीउ, मल, सिँचाइ, मेशिन)मा सीमित पहुँच र अव्यवस्थित बजारहरूले बाधा पुर्याइरहेको छ ।’ किसानहरू र उद्यमीहरूले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको जनाउँदै मन्त्री अधिकारीले त्यसलाई सहज, छिटो र छरितो बनाउन सरकार लागि परेको बताए । 

कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषि क्षेत्रलाई व्यवसायीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारहरूको समन्वयात्मक प्रयास आवश्यक रहेको औँल्याए । विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नव प्रवर्धनशील विचार, अनुभव र स्रोतहरूका सरकार हातेमालो गरेर अघि बढ्न चाहेको जनाउँदै मन्त्री अधिकारीले सबैलाई सहकार्यका लागि आह्वान गरे ।