कृषि मन्त्री अधिकारीसँग युएसएआइडीका मिसन डाइरेक्टरको  शिष्टाचार भेट

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १३, २०८१

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोबीच शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री अधिकारीले अमेरिकाले सन् १९५० को दशक देखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको स्मरण गरे ।र,  आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोगका लागि उनले आग्रह गरेका छन् । 

नेपाल सरकारले दिगो विकास लक्ष्य प्राप्तिको लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, कृषि अनुसन्धानलाई बढवा दिने, कृषि पूर्वाधारको विकासलाई तीव्रता दिने, उत्पादित कृषि उपजको आन्तरिक एवं बाह्य बजारमा सहज पहुँचा राख्ने, नेपालको भौगोलिक क्षेत्र विशेष कृषि उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरी कृषि पर्यटन समेतको सम्भावनालाई साकार पार्ने योजना रहेको मन्त्री अधिकारीले भेटका क्रममा उल्लेख गरेका थिए ।

अमेरिकी सरकारको सहयोगमा चालु आर्थिक वर्षबाट सुरु हुन लागेको एगृकल्चर ट्रान्सफरमेसन आयोजनाको आई एल हस्ताक्षर गर्न केही समस्या परेको जानकारी आफूले पाएको जनाउँदै मन्त्री अधिकारीले ‘यस विषयलाई मैले गम्भीर रूपमा लिएको छु । समस्या समाधानको लागि यस मन्त्रालयले अर्थ मन्त्रालयसँग आवश्यक पहल तथा समन्वय गरिरहेको छ,’ उनले भेटमा भने ।’

आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालले संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय र बहुपक्षीय तहमा नजिकबाट काम गर्न तत्पर रहेको अधिकारीले दोहो¥याएका थिए । युएसएआइडी मिसन डाइरेक्टरले अधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको आश्वासन दिएका छन् ।