बेनीघाट रोराङको दुई दिने शैक्षिक गोष्ठी सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, भदौ २, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले सिकाइ सुधारका लागि २ दिने आवासीय शैक्षिक गोष्ठी सुर्योदय आधारभूत विद्यालय, वडा नम्बर ८, भुवाभञ्ज्याङमा सम्पन्न गरेको छ ।

पालिकाका शिक्षा अधिकृत बोधराज पाठकका अनुसार ७८ जना प्रधानाध्यापक, पालिकाका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्षहरु, शिक्षा समितिका सदस्यहरु, विषयगत समितिका संयोजकहरु, शिक्षकका पेशागत संघ संगठनका अध्यक्षहरु गरी १२४ जन सहभागी गोष्ठीले “Non-graded नतिजा शुन्यमा झारौं- सिकाइ सुधार वर्ष २०८१ लाई सफल पारौं” अवधारण तय गरेको छ ।

गोष्ठीमा प्रधानाध्यापकहरुले सिकाइ सुधार बर्ष २०८१ को लागि मेरो कार्ययोजना नामक शीर्षकमा १० मिनेट सम्मको पावरपोइन्ट प्रस्तुती राखेका थिए भने पालिका प्रमुख उप प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्षहरुले सिकाई सुधारका लागि पालिकाले तय गरेको अवधारणमा सबै प्रतिवद्ध भएको लाग्नु पर्ने बताएका थिए ।

गोष्ठीमा गाउँपालिका र प्रधानाध्यापक बीच ५९ बुँदे कार्यसम्पादन करार सम्झौता, सिकाइ सुधारका लागि प्रधानाध्यापकहरुको २१ बुँदे साझा प्रतिबद्धता र विद्यालयहरुबाट प्रस्तुत असल अभ्यास र कार्ययोजनाको संकलन कार्य भएको शिक्षा अधिकृत पाठकले धादिङपोष्टलाई जानकारी दिए ।

बेनीघाट रोराङमा सामुदायीक ७३ र संस्थागत ५ गरी ७८ विद्यालय रहेका छन् भने यी विद्यालयमा चालु शैक्षिक वर्षमा १० हजार २७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।