धादिङ । भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि जिल्ला , प्रदेश छनोट चरण पार गर्दै राष्ट्रिय खेलाडी छनौटमा सहभागि धादिङका ४ जना खेलाडी मध्य दुई जना समिर गुरुङ र सुवास बिक दोस्रो छनोट चरणमा प्रवेश गरेका छन् ।
जिल्ला प्रदेश छनोट पार गर्दै धादिङबाट समिर गुरुङ नीलकण्ठ, सुवास विक नीलकण्ठ, साजन गुरुङ नीलकण्ठ र कृशट प्रधान राष्ट्रिय छनोट चरणमा पुगेका थिए, जसमा साजन र कृशट दोस्रो चरण पुग्न असफल रहे । एन्फा धादिङका फुटबल प्रशिक्षक रवि भण्डारीका अनुसार पहिलो चरण पार गरेका समिर र सुवास दुबै जना धादिङ फुटबल क्लवको उत्पादन हुन् । सुवास मनाङ मस्र्याङदी क्लवबाट पनि खेल्ने गर्दछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरबाट जिल्ला प्रदेश हुँदै छनोट भएर आएका खेलाडीहरुको पहिलो चरणको छनोट सकिएको र दोस्रो चरणको छनोटमा ७५ जना खेलाडी सहभागी हुने जनाएको छ । यो ७५ जनाबाट पनि छनोट गरि यु(१७ च्याम्पियनसिपका लागि नेपालको टिम बनाईने एन्फाले जनाएको छ ।
यस अघि यू-२० का धादिङका ३ खेलाडीले प्रदेश छनोट पार गरिसकेका छन् । उनीहरुले २०८१ श्रावण ३२ गते देखि भदौ १२ गते सम्म काठमाण्डौमा सञ्चालन हुने SAFF U-20 Championship 2024 का लागि बागमती प्रदेशले केन्द्रिय छनोट खेल्ने छन् ।