समय…

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २९, २०८१

डियर समय,
तिमी किन यति बलवान्?
कति गरे तिम्रो महत्व महसुस
कति राखे आफ्नै मन र
मष्तिष्कलाई सन्तुलित
एउटा दुर गन्तव्यमा पुग्ने अठोट
अनि उडान भर्ने सपना बोकेर !
बादलका छिद्राहरु पार गर्दै
अबरोधका काँडाहरु पन्छाउदै

तर
तिमिले त
कतै अनकन्टार जङ्घारमा
लगेर पो अल्झाईदियौ!
सोचेँ तिमी पनि अल्झियौ कतै
तर तिमी त
निष्फिकृ आफ्नै गतिमा
कुदिरहेछौ,
न कुनै परवाह
न कुनै अबरोध
न कुनै चिन्ता
न कुनै चासो
बस्
एउटै गति, एउटै लय
एउटै ताल अनि एउटै सुरमा
अघि बढिरहेछौ
निरन्तर आफ्नै
गन्तब्यको खोजिमा

सायद
तिमीलाई तिमी हुनुमा गर्व छ
तिमिलाई तिमी हुनुको बोध छ
तर
मलाई म हुनुमा कुनै गर्व रहेन
मलाई म हुनुको बोध नै भएन
साच्चै
म कहिलै म हुन सकिनँ
म भित्रको म मरेर गयो कि ?

सधैँ अल्झिरहे बिच बाटोमा
सधै बाधिईरहे कुनै बन्धनमा
सधै छेलिईरहे बादलको पर्दामा
लाग्छ,
पर्दा खुल्ने आसाका ढोकाहरु
कहिलै नखुल्ने गरि बन्द भए !

नभए हेर त
तिमी तिम्रो गन्तब्यको
ढोका खोल्ने सिढिमा पुग्यौ
म कतै चिच्याईरहेछु
म कतै हराइरहे छु
म कतै छलिई रहेछु
उता तिमी
मलाई देखेर
गिज्याइरहेछौ,
यता म
म लाजको घुम्टी
ओढिरहेछु।