धादिङ जिल्लाको हालको सदरमुकाम धादिङबेसी तत्कालीन सदरमुकाम सुनौलोबजार स्थित धादिङ बजारबाट २०३१ सालमा झरेपछि यहाँ नयाँ बस्ती विकास हुन थालेको हो । सदरमुकाम सरेपछि मात्र यस इलाकामा ग्रामीण क्षेत्रबाट बसाँइसराइ गरेर आउने क्रम आरम्भ भएको हो । सदरमुकाम र त्यसमा पनि नयाँ वस्ती भएकोले विद्यालयको आवश्यकता खड्केको थियो । जुन आवश्यकता पूरा गर्न तत्कालीन समाजसेवी, राजनीतिक व्यक्तित्व तथा शिक्षित वर्गहरुले नयाँ विद्यालय स्थापना गर्ने निर्णय गरे ।
नीलकण्ठ माध्यमिक विद्यालय रहेको वस्तीबिहीन खेतीयोग्य भूभाग निकै उर्वरशील फाँट थियो । सदरमुकाम धादिङबाट बेंसीमा झार्ने सरकारले निर्णय गरेपछि यहाँका शिक्षासेवी, समाजसेवीहरु स्व. दण्डपाणि अधिकारी, टि. एन. गोपीकृष्ण अधिकारी, स्व. जगन्नाथ कोइराला, गोपीनाथ रिजाल, सोमनाथ ढुङ्गाना, माणिकलाल श्रेष्ठ, स्व. झंकनारायण श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, आदिले आरम्भका केही समय शितलबजार स्थित घाँटीमा छाप्र्रो बनाएर आफैंले पठनपाठन गराउन थालेका थिए । यो सँगै आजको समुन्नत हुँदै गएको यस विद्यालयको जगारम्भ भएको थियो ।
विद्यालयको नामकरण
विद्यालयको नामकरण नीलकण्ठ महादेवको नामबाट गरिएको छ । नीलकण्ठ महादेव धादिङ भएर बग्ने पवित्र नदी त्रिशूलीको उद्गम गोसाइँकुण्डमा शयन गरेका देवाधिदेवको नाम हो । समुन्द्रमन्थन गर्दा निस्किएको कालकुट विषको प्रसङ्ग जोडिएका शिवले कण्ठमा धारण गरेर नीलकण्ठ बनेका हुन् । गोसाइँकुण्डमा शयनरत महादेवको प्रतिरुप यस क्षेत्रमा स्थापना गरिएपछि तत्कालीन गाउँ पञ्चायतको नाम पनि नीलकण्ठ राखिएको थियो र नवस्थापित माध्यमिक विद्यालयको नाम पनि नीलकण्ठ नै राखिएको हो । नीलकण्ठको नामबाट यहाँको नगरपालिका, विद्यालय, क्याम्पस आदि अनेक संघसंस्थाहरुको नामाकरण गरिएको छ । विद्यालयको नामाकरण गरिएको नीलकण्ठ महादेवको मन्दिर भने हाल जिल्ला प्रहरी कार्यालय रहेको परिसर भित्रको मूलगेट भित्र देब्रेतिर रहेको छ ।
त्यतिबेला कटुसे छाप्रोमा नीलकण्ठ निम्न माध्यमिक विद्यालयका नामबाट कक्षा ७ सम्म सञ्चालन गरिएको थियो । त्यतिबेलाका संस्थापकहरु गोपीकृष्ण अधिकारी, माणिकलाल श्रेष्ठ आदिले आफै केही समय अध्यापन कार्य गरेका थिए । यसलाई कटुसको छाप्रोबाट आफ्नै जमिनमा ल्याउने काममा स्व। दण्डपाणि अधिकारी, टि. एन गोपीकृष्ण अधिकारी, स्व. जगन्नाथ कोइराला, गोपीनाथ रिजाल, सोमनाथ ढुङगाना, माणिकलाल श्रेष्ठ, स्व. झंकनारायण श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ लगायत शिक्षासेवीहरु तथा तत्कालीन प्र. जि. बाबुराम पौडेल, बासुदेव लम्सालले गराएका हुन् ।
विद्यालयलाई सरकारी अधिग्रहण क्षेत्रमा उचित स्थानमा उपयुक्त जग्गा उपलब्ध गराएर योगदान दिने तत्कालीन प्र.अ. शम्भुकुमार श्रेष्ठ, प्र. जि. अ. बाबुराम पौडेल तथा प्रधानपञ्च टिकाबहादुर भण्डारीको योगदान देखिन्छ । हाल विद्यालयसँग सरकारी अधिग्रहण क्षेत्रमा १६ रोपनी आफ्नै जग्गा रहेको छ र भवनाथ अधिकारीले दान दिएको ४ आना अधिकारी डाँडामा रहेको छ । त्यसैगरि नीलकण्ठ नगरपालिका तारुखर्कमा पूर्व प्रअ बाबुराम अधिकारीले विद्यालयलाई दान दिएको ५ रोपनी जग्गा पनि स्वामित्वमा छ ।
हाल यस विद्यालयमा २०४५ सालमा स्थापित भै सञ्चालनमा रहेको खानिगाउँ आधारभूत विद्यालय, नीलकण्ठ–४, २०४८ मा स्थापित भै सञ्चालनमा रहेका ईजारा आधारभूत विद्यालय नीलकण्ठ–३ एकीकरण भएका छन । नेपाल सरकारको ठूला विद्यालय सम्बन्धि अवधारणा र सबैधानिक व्यवस्था अनुसारको अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनमा समेत टेवा पु¥याउने उद्देश्यका साथ नगरपालिकाको दोस्रो ठूलो २०३४ सालमा स्थापित भै सञ्चालनमा रहेका बालमन्दिर माध्यमिक विद्यालय समेत समायोजन भै मेघा विद्यालयको अवधारणामा सञ्चालनमा रहेको छ ।
हाल कक्षा १ देखि ५ सम्मको पठनपाठन बालमन्दिर सेक्टरमा र कक्षा ६ खेखि १२ र बालकक्षा नीलकण्ठ सेक्टरमा सञ्चालनमा रहेका छन् । तदर्थ विद्यालय व्यवस्थापन समिति गठन भएको र एकीकृत विद्यालयको नाम नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय रहने भनि निर्णय समेत भैसकेको छ ।