धादिङ । नीलकण्ठ नगरपालिका ४ मा रहेको एैतिहासिक पौवाघर निर्माणलाई निरन्तरता दिन नेपाल सरकारले यो पटक फेरि ८० लाख विनियोजन गरेको छ ।
गतवर्ष संघीय सरकार अन्तरगतको संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत ७० लाख विनियोजन भएको थियो । उक्त निमार्ण कार्यलाई पूर्णता दिने गरि अहिले फेरि नेपाल सरकारले ८० लाख विनियोजन गरेको पौवा घर संरक्षण समाज अध्यक्ष सुर्य तामाङले बताए ।
धादिङको पुरानो सभ्यता चिनाउने पृथ्वीनारायण शाहका गोरखाली सेनाले बास बस्ने गरेको ऐतिहासिक पुरातात्त्विक सम्पदा पौवाघर संरचना भुकम्प पछि निकै जीर्ण बनेको थियो ।
यस पौवा घर बारे केहि तथ्य
नीलकण्ठ ४ रहेको पौवाघरको संरक्षणको लागि तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहले २ सय मुरी धान फल्ने खेत गुठीको रुपमा राखेको पुराना कागज पत्रमा उल्लेख गरिएको पाइन्छ । राजा गिर्वाणयुद्ध विक्रम शाहले तत्कालीन प्रधानमन्त्री भिमसेन थापाको रोहवरमा स्थानीय चन्द्रवीर थापालाई लालमोहर लगाई बहुमूल्य जग्गा सहित युद्ध सामग्री ढाल तरबार, खुँडा लगायतका सामग्री प्रदान गरिएको पुराना कागज पत्रमा देखिन्छ । पौवाघरको संरक्षणको लागि दिइएको २ सयमुरी धान फल्ने खेतमा अहिले धादिङको जिल्ला सदरमुकाम रहेको छ । पौवाको बिर्तामा सयौ घर, पसल, कार्यालय रहेका छन् । बिर्ताको जग्गामा बसेर कैयौ व्यक्तिले करौडौ आम्दानी गरेको समेत देखिन्छ । गुठिबाट पौवाघरलाई ५ दशकदेखि केही सहयोग भएको छैन । स्थानीय केहि सामाजिक अभियान्तहरुको सक्रियतामा अहिले पौवाघर संरक्षणको अभियान चलाएको छ ।