एनआरएनको निर्वाचनमा धादिङका ५ जना विजयी, मत परिणाममा विवाद

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ३, २०८०

धादिङ । विहिबार सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा धादिङ जिल्लाका ९ जना उम्मेदवार मध्य ५ जना विजयी भएका छन् यद्यपी अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् ।धादिङका रामशरण सिंखडा उपाध्यक्ष, सचिवमा मनोज गोरखाली, सह कोषाध्यक्षमा कृष्ण तिमल्सिना, युरोप क्षेत्रिय महिला संयोजकमा प्रशुन्ना कडेल र युरोप महिला उप-संयोजकमा भवानी तिवारी विजयी भएको निर्वाचन कमिटीले सार्वजनिक गरेको सूचिमा उल्लेख गरेको छ ।

धादिङ जन्मभूमि भएका ९ उम्मेदवार मध्य कस्ले कति मत ल्याए
१. उपाध्यक्षमा रामशरण सिंखडा, गंगाजमुना हाल यूके १५५२ मत (विजयी)
२. सचिवमा लोक प्रसाद दाहाल बुढाथुक हाल बेल्जियम १५७१ मत
३. सचिवमा मनोज गोर्खाली बेनीघाट रोराङ हाल यूएई २०२४ मत (विजयी)
४. सचिवमा प्रकाश सापकोटा नेत्रावती डवजोङ हाल यूएस १३७७ मत
५. कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना नीलकण्ठ हाल यूएई १९१२ मत ५ मतले पराजित
६. सह-कोषाध्यक्षमा कृष्ण तिमल्सिना नीलकण्ठ हाल यूके २०१५ मत (विजयी)
७. युवा संयोजकमा रविन अधिकारी नीलकण्ठ हाल पोर्चुगल १७६५मत
८. युरोप क्षेत्रिय महिला संयोजकमा प्रशुन्ना कडेल मलेखु ९०९ मत (विजयी)
९. युरोप महिला उप संयोजकमा भवानी तिवारी ज्वालामुखी हाल अष्ट्रिया निर्विरोध (विजयी)

अनलाइन भोटिङ सिस्टममार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका हुन् । ‘पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन,’ श्रेष्ठ र शर्माले शुक्रबार बिहान संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् । २० अक्टोबर २०२३ मध्य राति घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेको उनीहरुको भनाइ छ ।

अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेलको मत शून्य देखाइएको छ । भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’ संघको तर्फबाट भेरोसँग मास्टर कपि माग गरिएको जानकारी पनि उनीहरुले गराएका छन् ।