अझै केही दिन पानी पर्ने

Avatar photo
Dhadingpost
बुधबार, अशोज १७, २०८०

काठमाडौं । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अझै सातादिन जस्तो मनसुन सक्रिय रहने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ। हाल भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको छ।

पौडेलले भने, ‘चार/पाँच दिन अझै केही बद्ली हुने र पानी पर्ने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ।’ बुधवार दिनभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको झार खण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोसी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।