किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाउन सुरु

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २८, २०८०

काठमाडौं । सात प्रदेशको सात अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’अभियान सुरु गरेको छ । १४ वर्षका किशोरीहरुलाई यो खोप दिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । यो अभियान बुधबारबाट सुरुभएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार डडेल्धुरा अस्पतालमा २७ देखि २९ गते, प्रदेश अस्पताल, भेरी अस्पताल गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा २७ देखि ३० गते, नारायणी अस्पतालमा २९ देखि ३१, कोशी अस्पतालमा २८ देखि ३० गतेसम्म खोप दिइनेछ ।

चीनबाट दुई महिना अघि २० हजार भाइल खोप ल्याइएको छ । यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो । सरकारले १० देखि १४ वर्ष उमेर समूहका झण्डै साढे १६ लाख किशोरीहरुलाई यो खोप दिने योजना बनाएको छ ।

खोप २ मात्रा पुरा गरेमा संक्रमणबाट ९५ प्रतिशत सम्म सुरक्षा प्रदान गर्छ । यो खोपबाट मुख, यौनांगमा आउने मुसा एवं यौनांगको क्यान्सरबाट जोगाउन सकिनेछ ।

सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदनअनुसार दुई हजार दुई सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ को मृत्यु भएको छ। पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ।