बुवाको मुख हेर्ने दिन, आज कुशे औंसी

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २८, २०८०

काठमाडौं । आज ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिधा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।

आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व पनि हो । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।

कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो ।