माओवादी केन्द्रले ३५ जना थप्दै केन्द्रिय कमिटीमा

Avatar photo
Dhadingpost
बुधबार, साउन १७, २०८०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रले केन्द्रिय कमिटीमा ३५ जना थप्ने तयारी गरेको छ । ‘३५ जना केन्द्रीय सदस्य मनोनीत हुन्छ, पार्टीमा ३३ प्रतिशत महिलाको संख्या नभएकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको बताईएको छ ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत संख्या नरहेकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा केही पार्टी एकीकरणबाट आएका नेता पनि रहेका छन् ।

आज काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटी बैठकमा ७ सय ५८ जना सहभागी हुने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए ।

बैठकमा केन्द्रीय सदस्य ३ सय ८५, वैकल्पिक केन्द्रीय सदस्य १ सय ९८, तीनवटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट सय जना सहभागी हुनेछन् । माओवादी केन्द्रमा अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोग रहेको छ । सातवटा भौगोलिक प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीनवटा गैरभौगोलिक प्रदेश कमिटीसमेत रहेका छन् ।