काठमाडौं । ‘वन योङ वर्ल्ड’ ले आयोजना गरेको ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड कार्यक्रममा विभिन्न देशका ५ जनालाई सम्मान गर्दा नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ समेत रहेकी सांसद सोविता गौतम परेकी हुन् ।
आयोजकले अवार्डका लागि विभिन्न विभिन्न देशका १५ सांसद, मेयर लगायतबाट ५ जनालाई अवार्ड प्रदान गर्दा सांसद सोविता गौतम सहित क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलाती परेका छन् ।
संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ । द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । संस्थाले बेलफास्ट बेलायतमा आगामी २ देखि ५ अक्टोबरसम्म द वन योङ वर्ल्ड समिट गर्दैछ ।