गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब प्रथामिकताका साथ अघि बढ्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले आज गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड अफिस उद्घाटन गर्दै राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशनसमेत दिएका थिए ।
‘बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ, हरहालतमा अगाडि बढाइन्छ । यस आयोजनाका निम्ति कम्पनी खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई काम अगाडि बढाउने तयारी भइरहेको छ । जग्गा अधिग्रहणको मूल हिस्सा सम्पन्न भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारको नीति तथा कार्यक्रममा पनि यसलाई उच्च प्राथमिकतामा राखिएको छ ।’
सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ । यस्तै, घर गोठ, बोटबिरुवातर्फ छ अर्ब ७० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाबाट धादिङ र गोरखाका करिब ५० हजार मानिस प्रभावित हुनेछन् । आयोजनामा कूल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण हुनेछ । त्यसबाट कूल ४५ मिटर लम्बाइको ताल बन्नेछ । धादिङको बेनीघाटबाट दुई किलोमिटर उत्तरमा बाँध निर्माण हुनेछ ।