काठमाडौं । वैदेशिक रोजगारीमा युएई पुगेका भोजपुरका सूर्यबहादुर थापाले चार वर्ष ट्याक्सी चलाए । उनको आम्दानी पनि राम्रै थियो । यही समयमा उनका साथीहरू युएईबाट युरोपतिर प्रवेश गर्न थाले । अझ बढी आम्दानी र परिवार पनि लैजाने पाउने भएपछि उनले पनि युरोप जाने योजना बनाए । योजनाअनुरूप नै आबुधाबीस्थित अनन्तरा कन्सल्टेन्सीमार्फत उनी ६ महिनाअघि माल्टा पुगे । माल्टा जानका लागि उनले कन्सल्टेन्सीलाई करिब पाँच लाख रुपैयाँ बुझाएको बताए । ‘सबै साथीभाइ गए । युरोपमा राम्रो आम्दानी हुने र परिवारलाई पनि सेटल गराउन सकिने भएकाले म माल्टा आएको हो,’ उनले अनलाइनबाट भने, ‘तर, सोचेजस्तो सहज अवस्था भने रहनेछ ।’
नवलपरासीका गंगाराम घिमिरे पनि आठ वर्षदेखि युएईमा ट्याक्सी चलाउँथे । राम्रो आम्दानी भए पनि सानो गल्ती ठूलो रकम जरिवाना भुक्तानी गर्नुपर्ने भएपछि उनी युएईको विकल्प खोज्दै थिए । त्यहीवेला उनलाई माल्टा जाने अफर आयो । आबुधाबीस्थित दरबार कन्सल्टेन्सीलाई करिब सात लाख बुझाएर उनी माल्टा पुगेको पनि आठ महिना भयो । तर, सोचेअनुसारको काम भने नपाइएको उनले गुनासो गरे । ‘युरोपमा काम गर्नका लागि अस्थायी बसोवास कार्ड चाहिन्छ । तर, कार्ड बनाउन धेरै समय लाग्ने, कार्ड नबनेसम्म काम गर्न नपाइने, खान र बस्नका लागि आफैँले व्यवस्था गर्नुपर्ने भएपछि सोचेअनुसारको आम्दानी हुन नसकेको उनले बताए ।
ad
थापा र घिमिरेजस्तै पछिल्लो समयमा दुबईलाई ट्रान्जिट बनाएर नेपाली युवा युरोप तस्कर हुने क्रम बढ्न थालेको छ । दलालहरूले कतिपय युवालाई नेपालबाट नै युरोप लैजाने भन्दै दुबई हुँदै युरोप पुर्याउँछन् भने कतिपय युएईमा नै रोजगारी गरिरहेका युवालाई आकर्षक आम्दानीको लोभ देखाएर युरोप लगिरहेका छन् । युएईबाट जाँदा प्रक्रिया सहज हुने हुँदा दलालहरू पनि युएईमा नै सक्रिय भएका हुन् । युएईबाट करिब २२ हजार दिराम (करिब आठ लाख)सम्म भुक्तानी गरी दलालहरूले नेपाली युवालाई युरोपका विभिन्न मुलुकमा पठाउने गरेका छन् । विशेष गरी माल्टा, चेक रिपब्लिक, रोमानिया, क्रोसिया, पोल्यान्ड, पोर्चुगललगायतका मुलुकमा नेपाली युवा तस्कर भइरहेका छन् ।
युरोप जान हिँडेका युवा दुबईमा अलपत्र
मानव तस्करहरूले युरोप पठाइदिने भन्दै युएईमा नेपाली युवाहरूलाई अलपत्र पार्ने घटना पनि बढेको छ । महिनाैँसम्म युएईमा नै अलपत्र परेका युवाहरूको गुनासो आउन थालेको आबुधाबीस्थित नेपाली दूतावासका श्रम काउन्सलर दीनबन्धु सुवेदीले बताए । ‘दुबईबाट नेपाली युवालाई युरोपमा विभिन्न मुलुक पठाउने क्रम बढ्न थालेको छ । कतिपय दलालहरूले युरोप लैजाने भन्दै नेपालबाट नै युवाहरूलाई दुबई ल्याउँछन् । तर, अबैध रूपमा पठाउने हुँदा नेपाली युवा दुबईमा नै अलपत्र पर्ने गरेका छन्,’ उनले भने, ‘यसरी अलपत्र परेको भन्दै दूतावासमा उजुरी आउन थालेको छ ।’
क्यानडा र अमेरिका पुर्याउने भन्दै नेपाली युवालाई दलालहरूले दुबईमा अलपत्र पार्ने गरेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष विकास शाहीले बताए । ‘पहिला पहिला युएईमा आएर काम नपाउने, रोजगारदाताले सेवा–सुविधा नदिनेलगायतका समस्या आउँथे । तर, अहिले दलालले क्यानडा र अमेरिका पठाउने भन्दै दुबई ल्याएर सम्पर्कविहीन भएको गुनासो आउन थालेको छ,’ उनले भने । युवाहरू लाखौँ रकम भुक्तानी गरी अमेरिकी सपना बोकेर युएईमा अलपत्र परेका छन् ।
यसरी अलपत्र पर्ने नेपाली युवालाई दूतावास वा गैरआवासीय नेपाली संघले कानुनी रूपमा सहयोग गर्न नसक्ने उनको भनाइ छ । युवाहरू अवैध माध्यमबाट युएईलाई ट्रान्जिट बनाएर आउँछन् । यस्तो अवस्थामा कानुनी रूपमा दूतावासले कसैलाई कारबाही गर्न नसक्ने दूतावासका श्रम काउन्सलर सुवेदीले बताए । ‘दलालले एक ठाउँमा ल्याएर छाडिदिन्छ । दलाल सम्पर्कविहीन भएपछि युवाहरू हामीकहाँ आइपुग्छन् । कसले ल्याएको भन्ने कुनै प्रमाण हुँदैन । अब हामीले कसरी कारबाही गर्ने ?’ उनले भने ।
श्रम स्वीकृतिविना पठाउनेलाई सात वर्षसम्मको जेल
नेपाल सरकारको अनुमतिविना वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसाय वा दलाललाई अधिकतम पाँच लाख रुपैयाँ जरिवाना र सात वर्षसम्मको जेल सजाय हुने अधिवक्ता सोम लुइँटेलले बताए । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार नेपाल सरकारको अनुमति लिएका म्यानपावर व्यवसायीले मात्रै नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिईकन कुनै पनि मुलुकमा रोजगारीका लागि जान पाइनेछैन । यदि ऐनविपरीत काम गरेमा त्यसैलाई ठगी मानिने अधिवक्ता लुइँटेलले बताए ।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार दफा ४३ मा इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ । यदि कसैले वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशत हुने रकम हर्जानाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराइनेछ । साथै, पीडकलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ । विदेश पठाइनसकेको भए सो सजायको आधा सजाय हुनेछ ।
त्यस्तै, सोही ऐनको दफा ४४ अनुसार भने इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार पठाएमा वा प्रलोभन देखाई रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम भराइनेछ । त्यस्तो इजाजतपत्रवालालाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेख सात वर्षसम्म कैद हुनेछ । साथै, त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्रसमेत रद्द हुनेछ ।
ऐनबमोजिम युएईमा पुगेका नेपाली श्रमिकले युएईका लागि मात्रै श्रम स्वीकृति लिएका हुन्छन् । युरोपियन मुलुकका लागि भने नेपाल सरकारबाट अनुमति लिएका हुँदैनन् । त्यस्तै, युएईमा सक्रिया व्यवसायी वा दलालले पनि सरकारबाट अनुमति पाएका हुँदैनन् । त्यसैले यसरी युएईबाट श्रमिकलाई युरोपियन मुलुकमा पठाउने कार्यलाई ऐनअनुसार ठगी मानिन्छ ।
नेपालका म्यानपावर कम्पनीले अवैधमा रूपमा युएईमा कन्सल्टेन्सी सञ्चालन गरेका छन् । युएईमा नेपाली सञ्चालन गरेका ट्राभल एजेन्सीले पनि अवैध रूपमा नेपाली युवालाई युरोप पठाउने गरेका छन् ।
विशेष गरी युएईको दुबई, आबुधाबी र सारजहाँमा यस्ता खालका गतिविधि हुने गरेका छन् । यी प्रदेशमा नेपाली युवाको संख्या धेरै भएकाले दलालहरूले यो क्षेत्रलाई अखडा बनाएका हुन् । यसरी करिब १० हजार युवा युरोपका विभिन्न मुलुकमा पुगेको अनुमानित आँकडा छ । नयाँ पत्रिकाबाट