कांग्रेस जिल्ला सभापतिहरूको भेला १४ बुँदे प्रतिवद्धता पारित गर्दै सकियो

Avatar photo
Dhadingpost
शुक्रबार, असार २२, २०८०

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि सुरु भएको दुई दिने बैठक १४ वुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै आज सम्पन्न भएको हो ।

बैठकमा जिल्ला सभापतिहरुले पार्टी संगठनको गतिशीलतामा जोड दिएका छन् । बैठक समापन पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको बैठकपछि संगठनका कामलाई तिब्रता दिनका लागि नेताहरुमा ऊर्जा पैदा भएको बताए । यसले पार्टीको गतिशिलतालाई बढाउने उनले बताए ।

जिल्ला सभापतिहरुले १४ बुँदे आपसी प्रतिवद्धता गरेका भन्दै सो प्रतिवद्धतालाई बुँदागत रुपमा बाहिर नल्याइएको महामन्त्री शर्माले बताए । यद्यपी सो बुँदाभित्र पार्टी र भ्रातृ संगठनहरुलाई व्यवस्थित गर्ने, जिल्ला सम्मेलनहरुको सम्बन्धमा र देश विदेशमा रहेका पार्टी समर्थक तथा शुभचिन्तकहरुलाई संगठित गर्ने लगायतका विभिन्न विषयमा जिल्ला सभापतिहरुको प्रतिवद्धता रहेको उनले जानकारी गराए ।

बैठकको अन्त्यमा, पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।