काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।
२०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो । त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन गरिएको थियो । संशोधन अनुसार यसपटक साविककै प्रावधान अनुसार नतिजा सार्वजनिक गरिएको हो । न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसईई देखि मात्र कार्यान्वयनमा आउने छ ।
धादिङबाट कति विद्यार्थीले दिएका थिए एसईई
एसईई २०७९ को परिक्षामा धादिङबाट ५ हजार ३ सय ८९ जना विद्यार्थीहरु सहभागि भएका थिए । जिल्लाका १३ वटै पालिकामा २६ वटा परीक्षा केन्द्रबाट नियमित तर्फ ५ हजार ८७ जना, प्राविधिक तर्फ २ सय ४७ जना र ग्रेड वृद्धि तर्फ ५५ जना परिक्षा दिएका हुन् ।
चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका थिए । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।
यसैगरी, www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
https://see.nicasiabank.com
www.see.edusanjal.com
www.ekantipur.com
www.theconnectplus.com
https://khalti.com/app
www.neemaacademy.com
https://mypay.com.np
www.nepleeducationpoetal.com
www.ayoresult.com
www.results.matraeducation.com
www.tuteeline.com मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।