काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।
मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा छ र तेस्रो वर्गमा पाँचले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो।
पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ७० तोकिएको छ। यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर एक सय ७५ थियो।
यस्तै, डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा रु एक सय ४९ र तेस्रो वर्गका क्षेत्रमा रु एक सय ५० निर्धारण गरिएको निगमले जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ।
काठमाडौंको पेट्रोलको नयाँ मूल्य १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ पर्ने छ। दोस्रो वर्ग (सुर्खेत र दाङ) का लागि भाउ प्रतिलिटर ६ रुपैयाँ र पहिलो वर्ग (चारआली, विराटनगर,वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) का लागि प्रतिलिटर साढे ७ रुपैयाँ घटेको छ। एलपी ग्यासको मूल्य यथावत राखेको निगमले हवाइ इन्धनको भाउ आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ११५ अमेरिकी डलरले घटाएको छ।