आगामी पाँच दिन गर्मी अझै बढ्ने, लु को जोखिम

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १९, २०८०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिन अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी हुने जनाएको छ । महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित अधिकांश भूभागमा पछिल्लो पाँच दिनदेखि अधिकतम र न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ।

महाशाखाका अनुसार आगामी पाँच दिनसम्म तातो हावा चल्नसक्ने सम्भावना छ। पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना छ।

अत्यधिक गर्मी बढे सँगै महाशाखाले यो बेला तातो हावा अर्थात् लूबाट बच्न अनुरोध समेत गरेको । लूबाट हुने सम्भावित असरहरू भनेको थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन्।

लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटकपटक पानी तथा झोल पदार्थ ९जुस, सर्वत, आदि० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ।

अत्यधिक गर्मीका कारण कोशी प्रदेशका दुई तराईका जिल्ला सुनसरी र मोरङका स्थानीय पालिकाले केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।