धादिङ । बागमती प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुँदैछ, प्रतियोगिता संचालनको लागि नौ करोड ४२ लाख खर्च हुने प्रदेश सरकारले अनुमान गरेको सदस्य सचिव सुर्यलाल भण्डारीले बताएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने उक्त प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा छन् । यीमध्ये उसु र जुडो काठमाडौंमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ ।
फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौंडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य सचिव भण्डारीले बताए । प्रतियोगितामा विभिन्न बिधामा गरी एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने सदस्य सचिव भण्डारीले बताए ।
जिल्ला खेलकुद विकास समिति धादिङका प्रतापसिंह तामाङका अनुसार धादिङबाट १७० जना खेलाडी यस प्रतियोगितामा सहभागि हुँदै छन् । धादिङले भलिबल, फुटबल, क्रिकेट, तेक्वान्दो,आईटिएफ, ब्याडमिण्टन, कराते, एथलेष्टिक, उसु लगायत खेलहरुमा प्रतिस्पर्धा गर्ने अध्यक्ष तामाङले बताए ।