टोपबहादुर समातिए, बादलविरुद्ध प्रमाण जुटाउँदै प्रहरी

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २, २०८०

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्नता देखिएका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । पक्राउ परेका बिचौलियाले पैसा बुझाएको बयान दिएपछि एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध पनि प्रहरीले प्रमाण जुटाउँदै छ । पक्राउ पुर्जी जारी भएपछि उनका छोरा प्रतीक फरार भइसकेका छन् ।

पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझी ११औँ दिन आइतबार काठमाडौंको बुढानीलकण्ठबाट समातिएका हुन् । प्रहरीकै ‘सहयोग’मा २१ वैशाखदेखि फरार उनी अहिलेसम्म भारतमा लुकेका थिए । नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा छ ।

अर्घाखाँचीका पौडेल रायमाझीका निकट कार्यकर्ता हुन् । पक्राउ गर्न भारतमै प्रहरी टोली आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ । प्रहरी स्रोतका अनुसार एमाले उपाध्यक्ष बादलका छोरा प्रतीकको ठगीमा संलग्नता पुष्टि भइसकेको छ । प्रहरीले शुक्रबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको सुइँको पाएपछि प्रतीक फरार भएका थिए ।

बादलको हकमा स्वतन्त्र प्रमाण स्थापित भइनसकेको प्रहरीले जनाएको छ । तर, गत मंगलबार पक्राउ परेका रामशरण केसीको बयानबाट उनको संलग्नता पुष्टि गर्न सकिने प्रहरीको आशा छ । सानु भण्डारीले जस्तै केसीले पनि प्रतीकलाई पैसा बुझाएको बताएका छन् । दुवैको बयानमा प्रतीकको सहयोगबारे एउटै विवरण आएपछि उनको संलग्नतामा प्रहरी विश्वस्त भएको हो । बाबुकै सहमतिमा प्रतीकले रकम बुझेको हुन सक्ने आशंका छ । बादल गृहमन्त्री हुँदा उनी स्वकीय सचिव थिए ।
बादल गृहमन्त्री हुँदा बिचौलियाको स्वार्थअनुसार भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि कार्यदल गठन भएको थियो । त्यसको निर्णय उनले ३० जेठ ०७६ मा गरेका थिए । कार्यदल गठन गरेलगत्तै त्यसैलाई देखाएर बिचौलिया समूहले करोडौँ पैसा उठाएको थियो । कार्यदल गठनको औचित्यमै प्रश्न उठेको छ । हाल पक्राउ परेका बिचौलिया सानु भण्डारीले नै आफूनिकट ललितपुरका गणेश केसीलाई सो कार्यदलमा नियुक्ति दिलाएको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

त्यस्तै, बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईले त साढे पाँच करोड लिएको प्रमाण भेटिएका छन् । ‘मन्त्रीलगायतलाई मिलाउन’ भन्दै उनले पैसा उठाएका थिए । तर, राईले भने बयानको क्रममा पैसा लिएकोदेखि सबै इन्कार गरेका छन् । अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘एकातर्फ सल्लाहकारकै सल्लाहअनुसार कार्यदल गठन गर्नु, अर्काेतर्फ छोरासमेतको मिलेमतो देखिएपछि बादलमाथि अनुसन्धान सोझिनु स्वाभाविक हो ।’ कार्यदलले प्रतिवेदन तयार गरेको एक महिना नबित्दै बादलले कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा लगेका थिए । यद्यपि, १५ महिनापछि मात्र त्यसलाई कार्यान्वयनमा लैजान मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । गृह मन्त्रालयका त्यतिवेलाका सचिव प्रेमकुमार राई र महेश्वर न्यौपानेले पनि आफूहरूलाई सघाएको बिचौलियाको बयान छ । तर, बलियो प्रमाण भने भेटिएको छैन । त्यस्तै, कांग्रेस नेतृद्वय आरजु देउवा र मञ्जु खाण पनि मुछिएपछि प्रमाण जुटाउन प्रहरीलाई सकस परेको छ ।

भारतमा लुकेका रायमाझी बुढानीलकण्ठबाट समातिए
पक्राउ पुर्जी जारी भएपछि फरार एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ११औँ दिन काठमाडौंको बुढानीलकण्ठबाट समातिएका छन् । प्रहरीकै ‘सहयोग’मा २१ वैशाखदेखि फरार उनी अहिलेसम्म भारतमा लुकेका थिए । भारतको नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा छ । अर्घाखाँचीका पौडेल रायमाझीका निकट कार्यकर्ता हुन् । पक्राउ गर्न भारतमै प्रहरी टोली आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।

स्रोतका अनुसार रायमाझी नयाँदिल्लीमा एक नेपाली मूलका व्यापारीको घरमा बसेका थिए । ‘उनका साढुदाइ पनि त्यहाँ रहेछन्, उनकै सहयोगमा बसेको देखियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘प्रहरीको टोली आएको जानकारी पाएपछि पक्राउ पर्ने डरले नेपाल फर्किएको बुझियो ।’

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा औपचारिक रूपमा केही जानकारी नदिएको प्रहरीले रायमाझी पक्राउ पर्दा भने बुढानीलकण्ठबाट पक्राउ गरिएको भनेर प्रेस विज्ञप्ति निकालेको छ । गत २० वैशाखमा पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा रायमाझी गृहजिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी थिए । त्यस दिन उनले आफू निर्दाेष रहेको र काठमाडौं फर्किएर प्रहरीलाई सघाउने बताएका थिए । भोलिपल्ट रायमाझीलाई पक्राउ गर्न प्रहरी टोली खटिएकोमा आफैँ उपस्थित हुने भन्दै पक्राउ नगरिदिन आइजिपी वसन्तबहादुर कुँवरलाई आग्रह गरेका थिए । सोही आधारमा आइजिपीले त्यति सुविधा दिन भन्दै टोलीलाई फर्काएकोमा उनी प्रहरीलाई झुक्याउँदै भारत भागेका थिए ।

लगत्तै आइजिपी कुँवरले नै रायमाझीलाई पक्राउ गर्न सिआइबीको टोली खटाएका थिए । सोहीअनुसार फरार भएको ११औँ दिनमा उनी पक्राउ परेका हुन् । उनका छोरा सन्दीप २० वैशाखदेखि नै प्रहरी हिरासतमा छन् । रायमाझी बाबु–छोरा नक्कली शरणार्थीसम्बन्धी ठगीमा सुरुदेखि नै संलग्न रहेको प्रहरी दाबी छ । उनीहरूले बैंक खातामै पटक–पटक पैसा लिएको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । ‘बालकृष्ण पन्थी नेतृत्वको कार्यदल गठनमै पनि टोपबहादुरको सक्रियता देखिन्छ,’ स्रोत भन्छ, ‘त्यसपछि पनि उनले सो प्रतिवेदन कार्यान्वयनमा सहयोग गरिदिने भन्दै पैसा लिएको पुष्टि हुन्छ ।’ हिरासतमा रहेका सानु भण्डारीलगायतका बिचौलियाले रायमाझीले पैसा लिएको प्रमाण नै पेस गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । फरार भएपछि उनलाई एमालेले सचिवबाट निलम्बन गरिसकेको छ ।

एसएसपी कार्कीको प्रश्न– आउँछु भनेर किन भाग्नुभयो ?
टोपबहादुर रायमाझीको जवाफ– छोरा पक्राउ परेपछि मन बिग्रियो

पक्राउ गरिएपछि रायमाझीलाई साँझ जिल्ला प्रहरी परिसर टेकुमा लगिएको थियो । जहाँ परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले उनलाई सोधे, ‘आउँछु भनेर किन भाग्नुभएको ?’ जवाफमा रायमाझीको जवाफ थियो, ‘आउँछु नै भन्ने थियो, छोरा पक्राउ परेपछि मन बिग्रियो, अनि भागेँ ।’ परिसरका एक अधिकृतका अनुसार रायमाझी हतास देखिएका छैनन् । पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि गत २० वैशाखमा आफैँ प्रहरीमा उपस्थित हुने बताएका रायमाझी भोलिपल्टदेखि फरार भएका थिए । उनलाई खोज्न प्रहरीले हैरानी व्यहोरेको थियो । २० वैशाखको बेलुका उनका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका थिए ।

टोपबहादुरलाई पनि प्रहरीको ‘सत्कार’
एमाले नेता टोपबहादुर रायमाझीलाई पनि प्रहरीले हिरासतमा नराखी प्रहरी बस्ने कोठामै राखेको छ । उनलाई प्रहरी वृत्त, सोह्रखुट्टेमा प्रहरी अधिकृत बस्ने कोठामा बस्ने व्यवस्था मिलाइएको छ । ‘पूर्वमन्त्रीलाई डिएसपी बस्ने कोठामा राखेपछि पूर्वउपप्रधानमन्त्रीलाई पनि त राम्रै ठाउँमा राख्नुपर्‍यो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले व्यंग्यात्मक शैलीमा भने । सोह्रखुट्टेमा प्रहरी वृत्तको भवन नयाँ र सुविधासम्पन्न भएकाले रायमाझीलाई त्यहाँ राखिएको हो । बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि हिरासतमा नराखी टेकुस्थित प्रहरी परिसरमा डिएसपीको कोठामा राखिएको छ । यो प्रकरणमा पक्राउ परेका अन्य ११ जना भने काठमाडौंका विभिन्न हिरासतमा छन् । एकै हिरासतमा राख्दा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले फरक–फरक हिरासतमा राखिएको छ । नयाँ पत्रिकाबाट