धादिङ । बुधबार बेलुका धादिङको गल्छीमा २७ वर्षिय एक युवाको हत्या भएपछि स्थानीयले विरोध पर्दशन गरेका छन् । गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका गल्छी गाउँपालिका ८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरको हत्या भएको थियो ।
घटनापछि होटल सञ्चालक २८ वर्षीय निरज पण्डित र पण्डितकी आमा सरस्वतीसहित ६ जनालाई प्रहरीले अनुशन्धानका लागि नियन्त्रणमा लिएको छ । खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक इन्सपेक्टर) धर्मजित थिङले बताए ।
खाजा खाएको एक हजार एक सय रुपैयाँ तिर्न विनोदले एक हजार ५ सय रुपैयाँ दिएको तर चार सय रुपैयाँ फिर्ता नपाएपछि विवाद सुरु भएको थियो । छुरा प्रहारबाट घाइते भएका विनोदलाई सँगै खाजा खाइरहेका दुई जना साथीले राति नै उपचारका लागि काठमाण्डौको नर्भिक अस्पताल ल्याएका थिए । तर, अस्पताल ल्याउनासाथ विनोदको ज्यान गएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तस्वीर सौजन्य विकास रौनियार