एमालेको केन्द्रीय कमिटी बैठकमा १० एजेन्डामा छलफल हुने

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २७, २०८०

काठमाडौं । भोलि २८ वैशाखदेखि काठमाडौंमा सुरु हुने एमाले केन्द्रीय कमिटीको पाँचौं बैठकमा विभिन्न १० एजेन्डामा छलफल हुने तय गरेको छ । प्रवक्ता गुरुङका अनुसार बैठकले पहिलो एजेन्डाका रूपमा २०७९ साल भदौयता भएको राजनीतिक घटनाक्रमको विषयमा समीक्षासहित अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

केन्द्रीय कमिटीको चौथो बैठकपश्चात् भएका सचिवालय बैठकको निर्णय अनुमोदन, आयोग प्रमुखहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसैगरी, पार्टीद्वारा आयोजित मिसन ग्रासरुटको समीक्षासहित प्रतिवेदन सातवटै भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको समीक्षा प्रतिवेदन सो प्रदेशमा संयोजन गर्ने पार्टीका सचिवले राख्ने गुरुङले बताए ।

सचिव नभएका ठाउँमा प्रदेश कमिटीका इन्चार्जले प्रतिवेदन प्रस्तुत गर्नेछन् । समीक्षात्मक रिपोर्टपछि छलफलमा जाने र सबै प्रदेशले कार्ययोजना पेस गर्नेछन् । प्रदेशको प्रतिवेदन प्रस्तुत भइरहँदा स्थायी कमिटी बैठक बसेर कार्ययोजना बनाउनेछ । यसैगरी, वर्षको एकपटक केन्द्रीय सदस्यहरू आफ्नो जिम्मेवारीभन्दा फरक क्षेत्रमा खटिनेगरी कार्ययोजना बनाउने एजेन्डा रहेको छ । यसैगरी, अर्काे एजेन्डाका रूपमा पार्टी प्रवेश गरेका नेताहरूलाई जिम्मेवारी र पार्टी सदस्यता व्यवस्थापन गर्ने रहेको छ ।