काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा एक सय छ जनाले २० वटा उजुरी दिएपछि नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी लगाएतको टोली पक्राउ पर्ने सूचीमा छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई मंगलबार, गृह हुँदै हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे बुधबार र माओवांदी केन्द्रका तन्कालिन नेता एवं पूर्व उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी आज विहान भैरहवाबाट पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणले ठूलो रुप लिएको छ ।
२०७६ माघ २१ गतेदेखि २०७८ श्रावण २७ गतेसम्म गृहसचिव रहेका महेश्वर न्यौपानेकै पालामा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगीधन्दा शुरु भएको थियो । नक्कली शरणार्थी प्रकरणमा ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी भएको पाईएको छ ।
अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरुले कूल २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ। हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।